काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस साता करिब २ प्रतिशतले घट्दै लगातार पाँचै कारोबार दिन राताम्मे बनेको छ। लगानीकर्तामा बिक्री दबाब बढ्दा बजारमा सुधार आउन नसकेको हो।
गत साताको अन्तिम कारोबार दिन २७०२.११ विन्दुमा रहेको नेप्से परिसूचक यस साता ५२.६० अंक अर्थात् १.९५ प्रतिशत घटेर २६४९.५१ विन्दुमा बन्द भएको छ। साताभर बजार खुलेका पाँचै कारोबार दिन नेप्से ओरालो लागेपछि लगानीकर्ताको मनोबलसमेत कमजोर देखिएको छ।
यस अवधिमा सेन्सेटिभ इण्डेक्स ६.३० अंक, फ्लोट इण्डेक्स ३.३५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंकले घटेका छन्। बजार घटेसँगै कारोबार रकममा पनि सामान्य गिरावट देखिएको छ। गत साता दैनिक औसत ४ अर्ब ९ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा यस साता दैनिक औसत कारोबार ४ अर्ब २ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो साताको तुलनामा ०.१८ प्रतिशत कम हो।
यद्यपि दैनिक औसत कारोबार भएको शेयर संख्या १०.९८ प्रतिशतले घट्दा कारोबार संख्या भने ३०.९३ प्रतिशतले बढेको छ। यसले साना परिमाणका कारोबार बढेको संकेत गरेको छ।
बजार ओरालो लागेसँगै नेप्सेको कुल बजार पूँजीकरणमा पनि उल्लेख्य गिरावट आएको छ। गत साताको अन्त्यमा ४६ खर्ब १७ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ८२ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ३४ अर्ब रुपैयाँमा झरेको छ।
उपसमूहतर्फ हेर्दा यस साता सूचीकृत सबै १३ वटै उपसमूहका परिसूचक घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक प्रभावित बन्दै ३.३१ प्रतिशतले घटेको छ। यो उपसमूह ११ हजार ६३.६२ विन्दुबाट ३६५.६७ अंक घटेर १० हजार ६९७.९५ विन्दुमा झरेको हो। अंकका आधारमा पनि सबैभन्दा धेरै गिरावट यही उपसमूहमा देखिएको छ।
यता म्युचुअल फण्ड उपसमूहमा भने सबैभन्दा कम प्रभाव परेको छ। सो उपसमूहको परिसूचक ०.५१ प्रतिशत अर्थात् ०.११ अंकले घटेर २१.६७ विन्दुमा पुगेको छ।
यस साता नेप्सेमा दुई कम्पनीका कुल १ करोड १८ लाख ७५ हजार ५७९ दशमलव ६० कित्ता शेयर सूचीकृत भएका छन्। यसमध्ये एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर तथा स्नो रिभर्स कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सूचीकृत भएको हो।
फ्लोरसिट विश्लेषणअनुसार टक्सार पिखुवा खोला हाइड्रोपावर, रु रु जलविद्युत् परियोजना र मेगा म्युचुअल फण्ड–१ यस साता सर्वाधिक खरिद गरिएका शेयरको सूचीमा अग्रस्थानमा रहे। त्यसैगरी रावा इनर्जी डेभलपमेन्ट, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र कालिञ्चोक दर्शन सर्वाधिक बिक्री भएका शेयरको सूचीमा शीर्ष स्थानमा रहेका छन्।
लगातार पाँच कारोबार दिन बजार घटेसँगै लगानीकर्ताले आगामी साताको मौद्रिक नीति, आर्थिक सूचक तथा बजारमा आउने नयाँ नीतिगत व्यवस्थातर्फ चासोपूर्वक नजर लगाइरहेका छन्।




.gif)





