images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • रैथाने गाई सङ्कटमा, आठ वर्षमा २,३४५...

रैथाने गाई सङ्कटमा, आठ वर्षमा २,३४५ गाईगोरु घटे

रैथाने गाई सङ्कटमा, आठ वर्षमा २,३४५ गाईगोरु घटे

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • म्याग्दी, ८ असार । म्याग्दीको धवलागिरि गाउँपालिकामा रैथाने गाईगोरुको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ। पछिल्लो आठ वर्षको तथ्याङ्कअनुसार गाउँपालिकामा गाईगोरुको सङ्ख्या २ हजार ३४५ ले घटेको छ, जसले स्थानीय पशुपालन परम्परा र जैविक सम्पदामाथि चुनौती थपेको छ।

    images
    images

    गाउँपालिकाको पशु सेवा शाखाका अनुसार विसं २०७४ मा ६ हजार ७५६ गाईगोरु रहेको धवलागिरिमा हाल यो सङ्ख्या घटेर ४ हजार ४११ मा झरेको छ। त्यसै अवधिमा भैँसी, बाख्रा, भेडा तथा अन्य पशुपन्छीको सङ्ख्या भने बढेको देखिन्छ। स्थानीय जातका गाईको स्थानमा बढी दूध दिने उन्नत तथा वर्णशङ्कर जातका गाईभैँसी पाल्ने प्रवृत्ति बढ्दै जाँदा रैथाने गाई संकटमा परेको हो।

    स्थानीयवासीका अनुसार वैदेशिक रोजगारीतर्फ युवापुस्ताको आकर्षण, कृषि कार्यमा मिनीटिलर र ट्याक्टरको प्रयोग तथा गाईपालनमा घट्दो रुचिका कारण परम्परागत घुम्तीगोठ संस्कृति हराउँदै गएको छ। धवलागिरि–७ का नेत्रप्रसाद पुनले थोरै दूध दिने धेरै गाई पाल्नुभन्दा एउटै भैँसी पाल्नु सहज भएकाले गाईपालन छोड्नुपरेको बताए।

    images
    images

    धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक दूध र गहुँतसमेत सहज रूपमा नपाइने अवस्था आएको स्थानीयको गुनासो छ। धवलागिरि–७ का ओमबहादुर घिमिरेका अनुसार गाउँमा गाई र गोरु देख्नै मुस्किल हुन थालेको छ, जसले परम्परागत संस्कार–संस्कृतिमा समेत असर पारेको छ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार म्याग्दीमा पाइने पहाडी जातका गाई नेपालको मौलिक जैविक सम्पत्ति हुन्। यी गाईको दूध पोषिलो र स्वास्थ्यवर्द्धक मानिन्छ भने दूध, दही, घ्यू, गोबर र गहुँत धार्मिक तथा आयुर्वेदिक दृष्टिले समेत महत्वपूर्ण छन्। गाईलाई नेपालको राष्ट्रिय जनावरका रूपमा संवैधानिक मान्यता प्राप्त छ।

    धार्मिक दृष्टिकोणले गाईलाई लक्ष्मीको प्रतीक मानिन्छ। गाईको संरक्षण केवल धर्मसँग मात्र नभई जैविक विविधता, वातावरणीय सन्तुलन र स्थानीय कृषि प्रणालीसँग पनि जोडिएको विषय भएको मन्दिरका महन्थ हिमालय बाबाले बताए। उनका अनुसार स्थानीय गाईको वंश संरक्षण गर्न राज्य र समाज दुवैले विशेष पहल गर्न आवश्यक छ।

    धवलागिरि गाउँपालिकाले रैथाने गाई संरक्षणका लागि घुम्तीगोठ व्यवस्थापन, सोलार तथा त्रिपाल वितरणलगायत कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले स्थानीय जातका गाईको वंशाणुगत गुण जोगाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयसँग समन्वय गरी संरक्षणका कार्यक्रम अगाडि बढाइएको जानकारी दिए।

    रैथाने गाईको घट्दो सङ्ख्या केवल पशुपालनको समस्या मात्र नभई स्थानीय संस्कृति, जैविक सम्पदा र ग्रामीण जीवनशैलीसँग जोडिएको विषय भएकाले यसको संरक्षणमा राज्य, स्थानीय तह र समुदायको साझा प्रयास आवश्यक देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend