पोखरा । संघ सरकारले शनिबार र आइतबार सार्वजनिक बिदाको घोषणा गरेको छ । तर शैक्षिक क्यालेन्डर पुरा नहुने भन्दै गोरखाका पालिकाहरूले संघ सरकारले तोकेको समय अगावै भर्ना र पढाइ सुरु गर्ने निर्णय गरे । मावि तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई छ । गोरखा नगरपालिकाले सोही अधिकार प्रयोग गर्दै आइतबार पनि पढाउने निर्णय गर्यो ।साताको दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दबाब दिएपछि नगरपालिका अहिले आफ्नो निर्णयबाट पछि हटेको छ । केन्द्रले मंगलबार पत्राचार गर्दै सबै स्थानीय तह तथा विद्यालयलाई संघीय सरकारले गरेको दुई दिने बिदा कार्यान्वयन गराउन निर्देशन दिएको थियो ।
गत वैशाख २५ गते बसेको नगर कार्यपालिकाको बैठकले आइतबार पनि नगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको थियो । आइतबार बिदा गर्दा पाठ्यक्रम अनुसार क्रेडिट आवर नपुग्ने भएकाले विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगर शिक्षा समिति संयोजक रहमतुल्ला मियाँले बताए ।आइतबार विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसवापत शिक्षकहरुलाई छुट्टै पारिश्रमिक दिने नगरपालिकाको तयारी थियो । अहिले शिक्षा विकास केन्द्रको निर्देशनपछि आइतबार पढाउने निर्णयमा अडिन नसकेको नगरपालिकाले नै जनाएको छ ।




.gif)



