काठमाडौँ, १६ वैशाख । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार देशका अधिकांश भू–भागमा बदली रही वर्षाको सम्भावना देखिएको छ।
आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का धेरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
विशेषगरी कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। साथै, देशका तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि विभागले जनाएको छ।
रातिको समयमा पनि बदली कायमै रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा जारी रहने पूर्वानुमान छ।
यसैगरी, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा पुनः भारी वर्षाको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
विभागले सम्भावित वर्षा, चट्याङ र हावाहुरीबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।




.gif)





