कपिलवस्तु । शिवराज नगरपालिका–५ चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालको ३८ लाखभन्दा बढी रकम रहस्यमय रूपमा गायब भएको प्रकरण सार्वजनिक भएको छ। आन्तरिक लेखापरीक्षणका क्रममा आर्थिक वर्ष २०८१।८२ मा बैंकमा जम्मा गरिएको भनिएको आम्दानी रकम अभिलेखमा नदेखिएपछि घटना बाहिर आएको हो।
अस्पतालका अनुसार सो अवधिमा नेपाल बैंक लिमिटेड को चन्द्रौटा शाखामा १ सय २८ वटा भौचर मार्फत रकम जम्मा गरिएको देखाइएको थियो। तर आन्तरिक छानबिन गर्दा उक्त रकम बैंक खातामा जम्मा नभएको तथ्य फेला परेको छ।
भौचरहरूमा बैंकको छाप तथा बुझेको हस्ताक्षर समेत रहेको दाबी गरिएको छ। तर बैंकले भने ती भौचर नक्कली भएको स्पष्ट पारेको छ। अस्पतालले उक्त रकम विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणबाट संकलन गरिएको आम्दानी भएको जनाएको छ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ५ का अध्यक्ष नेत्र बेल्बासेले घटना सार्वजनिक भएपछि प्रहरीमा उजुरी दर्ता गरिएको जानकारी दिए। “भौचर भए पनि बैंकले नक्कली भनेको छ, त्यसैले छानबिन आवश्यक भएको हो,” उनले भने।
बैंकका शाखा प्रमुख रमेश जुगिजुले पनि नक्कली भौचर फेला परेको पुष्टि गर्दै घटनाबारे केन्द्रीय कार्यालयमा जानकारी गराइएको र आन्तरिक अनुसन्धान जारी रहेको बताए।
अस्पताल प्रशासनले भने भौचर बैंकबाटै प्राप्त भएको दाबी गरिरहेको छ, जबकि बैंकले ती कागजात किर्ते भएको बताउँदै आएको छ। यसले घटनामा दुवै पक्षको भूमिका शंकास्पद देखिएको छ।
यता, शिवराज नगरपालिकाका मेयर अजय थापाले आर्थिक हिनामिना तथा किर्ते भौचरसम्बन्धी अनुसन्धानका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा लिखित उजुरी दिइएको बताए। “बैंक र अस्पताल दुवै पक्षले फरक–फरक दाबी गरिरहेका छन्, त्यसैले निष्पक्ष छानबिन आवश्यक छ,” उनले भने।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार घटनाबारे अनुसन्धान सुरु भइसकेको छ र दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाइनेछ।
यो प्रकरणले सार्वजनिक संस्थाको वित्तीय पारदर्शिता र बैंकिङ प्रणालीको विश्वसनीयता माथि गम्भीर प्रश्न उठाएको छ।




.gif)





