images

२०८३ आश्विन २३ गते

images
images
images

दसैँअघि ३ हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने सरकारको लक्ष्य

दसैँअघि ३ हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने सरकारको लक्ष्य

images
images
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • काठमाडौँ । दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौं छाड्ने अनुमान गरेको छ । 

    images
    images

    यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँमा काठमाडौं छाड्नेलाई लक्षित गरेर १२ असोजदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ ।

    दसैँका अवसरमा सार्वजनिक सवारीसाधनबाहेक पनि दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारीमा काठमाडौं छाड्ने र भित्रनेको संख्या पनि लाखौँमा हुने गरेको छ । तर के लाखौँ मानिस सवार हुने हजारौँ सवारीसाधनलाई थेग्नेगरी सडक संरचना निर्माण गरिएको छ त ? जानकारहरू सडकको अवस्था राम्र्रो नभएको बताउँछन् ।

    images
    images

    कतिपय स्थानमा सडक निर्माण भइरहेको छ भने कतिपय स्थानमा मर्मतसम्भारको काम चलिरहेको छ । तर दसैँसम्म ती काम पूरा हुनेमा उनीहरूको शङ्का छ । विशेषगरी काठमाडौं भित्रिने प्रमुख नाका नागढुङ्गादेखि धादिङतर्फको सडकमा अहिले धमाधम स्तरोन्नति भइरहेको छ । सडक बिग्रेको अवस्थामा छ । अहिले पनि सो खण्डमा स्तरोन्नति धमाधम भइरहेको छ । तर पनि दसैँसम्म पूरा हुने अवस्था भने देखिन्न ।
        
    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् । 

    मन्त्री दाहालकै निर्देशनअनुसार अहिले धामाधम सडक मर्मतको काम अघि बढेको र काम सम्पन्न हुने सडक विभागले जिकिर गरेको छ । विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहतपर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत भइरहेको बताए । 

    'खानेपानी तथा विद्युत्का कारण पनि कतिपय स्थानमा सडक भत्काउँदा खाल्डाखुल्डी छन्, त्यस्ता स्थानमा मर्मतको जिम्मेवारी उहाँहरूकै हो', उनले भने, 'काठमाडौं उपत्यकाको हकमा लक्ष्यभन्दा बढी प्रगति हासिल भइसकेको छ भने बाँकी काम दसैँसम्म सम्पन्न भइसक्नेगरी काम गरिरहेका छौँ ।'

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले चाडपर्वको छेकोमा यात्राका अवधिमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न र यात्रुलाई आवतजावतमा सहज व्यवस्था गर्न सडक सुधारको योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए । 

    'मन्त्री दाहालको संयोजकत्वमा सातै प्रदेशका सरकारका सम्बन्धित मन्त्रीसहितको समिति बनेको छ, समितिको छलफल पनि भइरहेको छ', उनले भने, 'सरकार सडक सुरक्षालाई लिएर गम्भीरताका साथ काम गरिरहेको छ ।'

    उनका अनुसार दसैँसम्म तीन हजार आठ सय ५६ दशमलव ४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ । जसमध्ये सोमबारसम्म सात सय ७२ दशमलव ८५ किलोमिटर सडकमा काम भइसकेको छ । ढकालले सडक सुरक्षाको नीति कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए ।

    'यात्रुको सुरक्षित र सहज यात्राका लागि यातायात व्यवसायीहरू, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, स्थानीय तह र नेपाल प्रहरीलगायतसँग छलफल भइसकेको छ', उनले भने, 'चाडपर्व लक्षित सडक सुरक्षा व्यवस्थापन गर्न अनुगमन कार्य चुस्त बनाउने हाम्रो योजना छ ।'

    चाडपर्वका बेलामा आवतजावत बढी हुने, गाडीको गति असीमित हुनसक्ने र दुर्घटनाको जोखिम बढ्नसक्ने उल्लेख गर्दै ढकालले उक्त समयमा निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने बताए । 'सडक सुरक्षामा मानवीय पक्ष पनि जिम्मेवार हुन्छ । मानिसले आफ्नो दायित्व पूरा गरेमात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ, त्यसैले नागरिकका तहबाट पनि सहयोगको अपेक्षा गरिएको छ', उनले भने। 

    सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मतसम्भारका लागि छ अर्ब बजेट विनियोजन गरेको जनाइएको छ । सडक विभागका अनुसार विभाग मातहत मुलुकभर १८ हजार ९७ किलोमिटर सडक रहेको छ । जसमध्ये सात हजार २६ किलोमिटर सडक मर्मतसम्भार हुने विभागका सूचना अधिकृत अमित शर्मा भुसालले जानकारी दिए । 

    पटके मर्मतसम्भार हुने (तत्काल मर्मत गर्ने) सडक पाँच हजार सात सय ४६  किलोमिटर रहेको र आवधिक र पुनर्वासबाहेक मर्मत गर्नुपर्ने सडक छ हजार किलोमिटर रहेको उनको भनाइ छ । दसैँअघि तीन हजार आठ सय ५६ किमी सडकलाई खल्डारहित बनाउने योजना छ । जसमध्ये सोमबारसम्म सात सय ७२ किमीमा काम भइसकेको छ । उनका अनुसार सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि एक सय ११ वटा ठेक्का लगाइएकामा हालसम्म जम्मा चार वटा ठेक्का सम्पन्न भइसकेका छन् ।    

    उनका अनुसार काठमाडौं भित्रने प्रमुख मार्गमा नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण भत्किएका सडक निर्माणको काम भने दसैँ अगाडि पूरा हुने अवस्था छैन । 'नागढुङ्गा सडकखण्ड ममर्त नभइ स्तरोन्नति गरिने भएकाले दसैँ अगाडि यो आयोजना पूरा हुने अवस्था छैन', उनले भने, 'मुग्लिङ–पोखरा सडकखण्डको पनि काम सकिने अवस्था नभएकाले यात्रामा केही असहजता भने हुने अनुमान छ ।'

    पूर्वाधारविद् राजेन्द्रराज शर्माले सडक निर्माणमा गुणस्तरमा ध्यान नदिने, क्षमताभन्दा बढी लोडको सवारीसाधन गुडाउने तथा अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयको अभावमा बर्सेनि यात्रुले दुःख पाउने गरेको बताए । 'दिगो सडक निर्माणका लागि गुणस्तरमा विशेष ध्यान दिनुपर्छ, त्यसबाहेक भौगोलिक अवस्थाबारे पनि राम्रो अध्ययन तथा अनुसन्धान आवश्यक हुन्छ', उनले भने । 

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत गर्नेको संख्या बढ्ने हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताए । 

    'सडक राम्रो नहुनु, सवारीसाधनको चाप बढी हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारगरी यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारीसाधन सञ्चालन गर्नुलगायतका कारण दसैँमा दुर्घटनाको जोखिम बढी हुने गरेको छ', उनले भने, 'दुर्घटना रोक्न उपत्यका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दसैँमा सजकताका साथ जाँचमा कडाइ  गर्ने योजना छ ।'

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend