काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालमा बरामद भएको करिब २२ किलो सुनको अवैध कारोबारमा चीनबाटै निर्देशन आउने गरेको खुलेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लेले वीच्याटमार्फत नेपालमा रहेका आफ्ना समूहका चिनियाँ नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने निर्देशन दिने गरेका थिए ।
कार्यालयले माथिल्लो भंगालस्थित घरबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद भएको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबाट परीक्षण तथा प्रमाणीकरण गरिएको उक्त सुनको र मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको कार्यालयको भनाइ छ । कार्यालयले बिहीबार चिनियाँ नागरिकले भाडामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले भाडामा लिएको घरमा ल्याइने लेसिलो तथा अर्धप्रशोधित अवस्थामा रहेको सुनलाई प्रशोधन गरी तयार पार्ने र तोकिएको स्थानमा पुर्याउने गरेका थिए । नेपालमा कहाँ सुन पुर्याउने र कसलाई बुझाउने भन्ने निर्देशन झेनले वीच्याटमार्फत दिने गरेको उनीहरूले बताएका छन् ।उक्त घर चिनियाँ नागरिक सु क्यानले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ । उनले चार महिनाका लागि अग्रिम १३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेका थिए ।




.gif)



