तनहुँ । यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले तनहुँमा घर, सडक, पुल, खानेपानी, विद्युत्, कृषि तथा पशुपक्षीमा क्षेत्रमा क्षति पुर्याएको छ । बाढीले जिल्लाका विभिन्न स्थानमा झोलुङ्गे तथा पक्की पुल, कल्भर्ट, सडकलगायत संरचनामा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय तहको विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, जिल्ला प्रहरी कार्यालयको सिफारिस तथा जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा मर्मतका लागि छोटो प्रक्रियाबाट तत्काल काम अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
पाँच झोलुङ्गे पुल पूर्ण क्षतिग्रस्त
विपद्का कारण तनहुँका पाँच वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण क्षति भएको हो । उक्त पुल पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभाग, ललितपुरमा सिफारिस गरिएको प्रजिअ तिवारीले बताए ।उनका अनुसार घिरिङ-१ को अत्रौलीबाट कासिवन जोड्ने झोलुङ्गे पुल पनि बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसको पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ । घिरिङ-४ र नवलपुरको बौदीकाली गाउँपालिका-२ अन्तर्गत मण्डारबाट खरसङघाट जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ । उक्त पुल पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ ।
सोही वडाको करुवाटारबाट माइतीघाट-मचेडी जोड्ने झोलुङ्गे पुल पनि बाढीले पूर्ण रूपमा क्षति पुर्याएको प्रजिअ तिवारीले जानकारी दिए । यसैगरी देवघाट गाउँपालिका-२ र नवलपुरको बुलिङटार गाउँपालिका-१ जोड्ने खाल्टे-बुलिङटार झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।यी पुलहरू क्षतिग्रस्त भएपछि नदी वारपार गर्ने स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ भने कतिपय स्थानमा विद्यालय जाने विद्यार्थीसमेत प्रभावित भएका छन् ।
तीन झोलुङ्गे पुलमा आंशिक क्षति
बाढीले तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने पुट्टारघाट-स्याउलीबजार झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । पुलको मर्मत तथा पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ ।त्यस्तै, घिरिङ-४ र नवलपुरको बौदीकाली जोड्ने जगौलीटार-थोत्रेनी झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । देवघाट-१ र नवलपुरको गैँडाकोट नगरपालिका-३ जोड्ने झोलुङ्गे पुलको लठ्ठा, स्ल्याब तथा जालीमा क्षति पुगेको प्रजिअ तिवारीले बताए । पुललाई तत्काल मर्मत तथा सुरक्षित बनाउनेतर्फ प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरे ।
पक्की पुलमा पनि क्षति
बाढीले घिरिङ-४ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी मण्डार-खरसङघाट पक्की पुलमासमेत आंशिक क्षति पुगेको छ । पुलको पुनर्निर्माण तथा आवश्यक मर्मतका लागि सडक विभाग, बबरमहल र सडक डिभिजन कार्यालय दमौलीमा सिफारिस गरिएको प्रजिअ तिवारीले बताए ।
दुई कल्भर्टमा क्षति
बाढीका कारण जिल्लाका विभिन्न स्थानमा कल्भर्टसमेत क्षतिग्रस्त भएका छन् । भिमाद नगरपालिका-४ स्थित सिंहाले कल्भर्ट पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसको पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ तथा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेशमा सिफारिस गरिएको छ ।त्यस्तै, घिरिङ गाउँपालिका-४ स्थित तिरन्दी खोला कल्भर्टमा आंशिक क्षति पुगेको छ । उक्त कल्भर्टको मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशमा सिफारिस गरिएको प्रजिअ तिवारीले जानकारी दिए ।प्रमुख जिल्ला अधिकारी तिवारीले बाढीका कारण क्षतिग्रस्त सडक, पुल, भवन तथा अन्य सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मतलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए । “स्थानीय तहको विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, प्रहरीको सिफारिस र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा आवश्यक प्रक्रिया पूरा गरी क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ”, उनले भने ।




.gif)





