images

२०८३ आश्विन १६ गते

images
images
images

पशुपालनबाटै वार्षिक करोड बढी आम्दानी

पशुपालनबाटै वार्षिक करोड बढी आम्दानी

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ का दीपक बस्नेतको कर्मदीप पशु एन्ड कृषि फार्मले रोजगारी र बजार सुनिश्चितता दिएको छ । पछिल्लो समय नेपालमा कृषि क्षेत्रलाई रोजगारी, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड बनाउने बढी चर्चा हुने गर्छ । तर व्यवहारमा भने व्यावसायिक रूपमा सफल किसानहरू नै सरकारी सहयोग, सहुलियत कर्जा र नीतिगत समर्थनबाट वञ्चित भइरहेका छन् । यसको ज्वलन्त उदाहरण उदयपुरको त्रियुगा नगरपालिका–२, मोथियायीमा सञ्चालित कर्मदीप पशु एन्ड कृषि फार्म हो ।अधिवक्तासमेत रहेका दीपक बस्नेतले सञ्चालन गर्दै आएको यो फार्मले पशुपालन र खेतीलाई एकीकृत गरी वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । बँदेल, हाँस, कुखुरा, बोका–बाख्रा, गाई र मौसमी खेतीमार्फत फार्मले नियमित आम्दानी, स्थानीय रोजगारी र बजार सुनिश्चितता दिएको छ । तर यति सफल व्यवसाय हुँदाहुँदै पनि बस्नेत सरकारी बेवास्ता र बैंकिङ प्रणालीको अव्यावहारिकताबाट निराश छन् ।

    images
    images

    बस्नेतको फार्ममा हाल तीन सयवटा क्रस बँदेल छन् । तीमध्ये एक सयवटा माउ तथा मासु उत्पादनका लागि तयारी अवस्थामा छन् भने दुई सयवटा पाठापाठी बिक्रीका लागि तयार छन् । बस्नेत भन्छन्, ‘बजार मूल्यअनुसार ती पाठापाठीको मूल्य करिब ३० लाख रुपैयाँबराबर पर्छ । माउ र मासुका लागि तयारी अवस्थामा रहेका बँदेलको मूल्य करिब ५० लाख रुपैयाँ हुन्छ ।’ बँदेलपालनबाट मात्रै फार्ममा ठूलो पुँजी र नियमित नगद अम्दानी भइरहेको बस्नेतको भनाइ छ ।त्रियुगा नगरपालिका–९, रातमाटे स्थायी घर भएका बस्नेतका दाजुभाइ र श्रीमती सबै विदेशमा छन् । उनकी श्रीमती कतारमा हेयर ट्रान्सप्लान्ट चिकित्सकका रूपमा कार्यरत छिन् भने अन्य दाजुभाइ जापान र अमेरिकामा छन् । ‘म अधिवक्ता हुँ, तर कृषि क्षेत्रमा रमाइरहेको छु’, उनी भन्छन्, ‘आठजनालाई रोजगारी दिएको छु, यही नै मेरो सन्तोष हो ।’

    उनले पुनः देशमा रोजगारी नभएर विदेश पुगेका युवालाई कृषि क्षेत्रबाटै परिवार पनि पाल्न सकिने बताए । ‘विदेश जाँदा चिकित्सक, इन्जिनियरलगायत प्राविधि क्षेत्रको धेरै राम्रो हुन्छ । नत्र मजदुरी गर्न देशकै खोरिया पाखामा पसिना बगाउँदा परिवार पनि पाल्न सकिन्छ । गाउँघरमै साथीभाइसँग रमाउन पनि सकिन्छ’, उनले भने ।बँदेलसँगै फार्ममा पाँच सयवटा हाँस पनि पालिएका छन् । प्रतिगोटा ६ सय रुपैयाँका दरले बिक्री भइरहेको छ । हाँसको कुल मूल्य करिब पाँच लाख रुपैयाँबराबर हुने बस्नेतको भनाइ छ । यता बयर जातका बोका–बाख्रा, लोकल जातका कुखुरा तथा गाईसमेत फार्ममा छन् । पशुपालनका विभिन्न विधालाई एकै स्थानमा समेट्दा जोखिम कम हुनुका साथै वर्षभरि आम्दानीको निरन्तरता कायम भएको बस्नेत बताउँछन् । फार्मले प्रत्यक्षरूपमा आठजनालाई रोजगारी दिएको छ । ती कामदारको मासिक तलब मात्रै करिब एक लाख रुपैयाँ पुग्छ । ‘विदेश जाने होड चलिरहेका वेला गाउँमै रोजगारी दिन सक्नु गर्वको कुरा हो’, बस्नेत भन्छन् ।

    images
    images

    कामदारको तलब, फार्म व्यवस्थापन, चारो तथा दानापानी, औषधि, ढुवानी र अन्य सञ्चालन खर्च जोड्दा वार्षिक खर्च करिब ५० लाख रुपैयाँ पुग्ने गरेको छ । तर खर्चभन्दा आम्दानी बढी भएकाले फार्म नाफामुखी बनेको छ । बँदेल, हाँस, कुखुरालगायतको नियमित बिक्रीबाट मासिक करिब ६ लाख रुपैयाँ आम्दानी हुने गरेको बस्नेत बताउँछन् । यस आधारमा वार्षिक कारोबार एक करोड रुपैयाँभन्दा बढी पुग्छ । सबै खर्च कटाउँदा वार्षिक ४० लाख रुपैयाँम्म बचत हुने गरेको उनको भनाइ छ ।चार बिघा चार कट्ठा क्षेत्रफलमा फैलिएको फार्ममा पशुपालनसँगै खेतीपाती पनि गरिएको छ । सिजनअनुसार सिलाम, वनसिलाम, तील, कोदो, घाँस तथा विभिन्न मौसमी तरकारी उत्पादन हुने गरेको छ । खेतीपातीबाट मात्रै वार्षिक करिब चार लाख रुपैयाँ आम्दानी हुने गरेको बस्नेतले बताए । ‘पशुपालनसँगै खेती जोड्दा आत्मनिर्भरता बढ्छ’, उनी भन्छन् ।फार्ममा हाल चारवटा गोठ छन् । एउटा गोठमा मात्र ७० देखि ९० वटासम्म बँदेल अट्ने क्षमता छ भने एक गोठमा सयवटा राँगा अट्ने व्यवस्था गरिएको छ । सबै गोठ आधुनिक प्रविधिमा आधारित छन्, जसले रोग नियन्त्रण, उत्पादन वृद्धि र व्यवस्थापनलाई सहज बनाएको छ ।

    बस्नेतले २०७४ सालमा गाईघाट बजारमा रहेको आफ्नो घडेरी बिक्री गरेर र केही बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर एक करोड रुपैयाँ लगानीमा व्यवसाय शुरु गरेका थिए । तर यति सफल व्यवसाय हुँदाहुँदै पनि बस्नेत सरकारी निकायप्रति गुनासो पोख्छन् । ‘अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सरकारबाट कुनै पनि सहयोग पाएको छैन ।’ उनी भन्छन्, ‘सहयोग माग्दा पनि तीनै तहका सरकारले बेवास्ता गरेका छन् ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend