काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । आयकर ऐन, २०५८ बमोजिम ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजश्व विभागद्वारा सञ्चालनमा रहेको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक अनिवार्य गरिएको बैंकले जनाएको छ ।
ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमार्फत सजिलै आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, ग्राहकलाई पायक पर्ने एनआईसी एशिया बैंकका कुनै पनि शाखा कार्यालयमा गई प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था समेत गरिएको छ ।
बैंकका अनुसार निक्षेपकर्तालाई ब्याज भुक्तानी गर्दा काटिने करलाई ई–टीडीएस प्रणालीमा प्रविष्ट गर्न प्यान अत्यावश्यक हुन्छ । प्यान अद्यावधिक भइसकेपछि उक्त करकट्टी विवरण (ई–टीडीएस) सम्बन्धित प्यानमा स्वतः प्रविष्ट हुने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची–१० मा करकट्टी विवरण मिलान गर्नेछ ।
यस प्रक्रियाबाट ग्राहकहरूले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र सहजै प्राप्त गर्न सक्ने र प्रमाणपत्रका लागि बैंक धाउनुपर्ने झन्झट अन्त्य हुने बैंकको विश्वास छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलका अनुसार, ग्राहकले प्यान अद्यावधिक नगरेका कारण ई–टीडीएसमा ब्याज कर दाखिला हुन नसकेको वा पछि थप समायोजन आवश्यक परेमा त्यसको जिम्मेवारी बैंकले नलिने स्पष्ट गरेका छन् ।




.gif)





