images

२०८३ आश्विन १६ गते

images
images
images

एउटै वडाबाट दश करोडको सुन्तला बिक्री

एउटै वडाबाट दश करोडको सुन्तला बिक्री

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाको ७ नं. वडाले यस वर्ष सुन्तला उत्पादनमार्फत उल्लेखनीय आर्थिक उपलब्धि हासिल गरेको छ । वडा भित्र रहेका विभिन्न टोलका सुन्तला बगैँचाबाट मात्र चालु वर्षमा १० करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । सुन्तलाखेतीलाई व्यावसायिक रुपमा विस्तार गर्दै लगिएको यस वडामा सुन्तलाले स्थानीय अर्थतन्त्र चलायमान बनाएको छ । वडाभित्रका सुन्तला उत्पादक कृषकहरुसँग संकलन गरिएको तथ्याङ्कका आधारमा भीरकोट–७ बाट यस वर्ष १० करोडभन्दा बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष तारा अर्यालले जानकारी दिनुभयो ।उहाँका अनुसार वडाका जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायतका टोलमा व्यावसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ । ती टोलका कृषकहरुले न्यूनतम १ लाखदेखि अधिकतम ३५ लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।

    images
    images

    यस वर्ष कृषकहरुले उत्पादन गरेको सुन्तला ठेक्का तथा प्रतिकेजी रु ७० का दरले बोटबाटै बिक्री गरेका हुन् । “सुन्तला उत्पादक कृषकहरुले बिक्री गरेको परिमाण र मूल्यका आधारमा जानकारी लिँदा वडाबाट मात्रै १० करोडभन्दा बढी आम्दानी भएको देखिन्छ,” वडाध्यक्ष अर्यालले भन्नुभयो, “वडामा सुन्तलाको बगैँचा विस्तार गर्ने क्रम निरन्तर जारी रहेकाले आगामी वर्षहरुमा उत्पादन बढ्दै जाने र त्यससँगै कृषकको आम्दानी पनि स्वतः वृद्धि हुने अपेक्षा गरिएको छ ।” सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत रुपमा कोदो र मकै खेती हुँदै आएका बारीहरुमा समेत सुन्तला बगैँचा विस्तार गर्ने क्रम तीव्र बनेको छ । सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिएको भीरकोट–७ मा तीन वर्षअघि योजनाबद्ध रुपमा बगैँचा विस्तार गरिएको थियो । कृषकको आम्दानी वृद्धि गर्ने उद्देश्यले थप ५ सय रोपनी क्षेत्रफलमा १५ हजार ५ सय सुन्तलाका बिरुवा रोपिएको वडाध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

    यहाँका कृषकहरुलाई सुन्तलाखेतीप्रति थप आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । सुन्तला बगैँचा व्यवस्थापनसम्बन्धी शिविर, आवश्यक उपकरण हस्तान्तरण, रोग तथा कीरा नियन्त्रणसम्बन्धी सहजीकरण र प्राविधिक परामर्शजस्ता कार्यक्रममार्फत कृषकलाई सहयोग पु¥याइएको छ । यसले उत्पादन र गुणस्तर दुवैमा सकारात्मक प्रभाव पारेको कृषकहरुको भनाइ छ । भीरकोट–७ मा उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढलगायतका ठूला सहरसँगै स्थानीय बजारमा पनि खपत हुँदै आएको छ । “ज्याला र ढुवानी खर्चसमेत व्यापारीले नै व्यहोर्ने गरी हाल प्रतिकेजी रु ७० का दरले बोटबाटै सुन्तला बिक्री भइरहेको छ,” वडाध्यक्ष अर्यालले भन्नुभयो, “बजारको कुनै समस्या नभएकाले कृषक ढुक्क भएर उत्पादनमा लाग्न सकेका छन् ।”

    images
    images

    स्थानीय कृषकहरुको अनुभवले पनि सुन्तलाखेतीले जीवनस्तर उकास्न थालेको देखाउँछ । भीरकोट–७ जिमिरेका सुन्तला कृषक शालिकराम अर्यालले यस वर्ष मात्रै ३५ लाखभन्दा बढीको सुन्तला बिक्री गर्नुभएको छ । उहाँ अहिले पनि प्रतिकेजी रु ७० का दरले बगैँचाबाटै सुन्तला बिक्री गरिरहनुभएको छ । त्यसैगरी सोही वडाको लोलुङ्गाका ५१ वर्षीय मिनप्रसाद कोइरालाले पनि यस वर्ष १५ लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । उहाँहरुजस्तै अन्य धेरै कृषकहरुले पनि सुन्तलाखेतीबाट उल्लेखनीय आम्दानी गरिरहेका छन् । अधिकांश बगैँचाको सुन्तला बिक्री भइसकेको छ भने केही बगैँचामा अझै बिक्री हुने क्रम जारी छ । भीरकोट–७ को सफलताले समग्र स्याङ्जा जिल्लामा सुन्तलाखेतीको सम्भावना र योगदानलाई समेत उजागर गरेको छ । जिल्लाबाट यस वर्ष कुल १ अर्ब ३२ करोड मूल्यको सुन्तला उत्पादन भएको छ ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २३ हजार २ सय ३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा सुन्तला उत्पादन र मूल्य दुवै बढेको छ । गत वर्ष जिल्लामा २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष उत्पादन बढेर २३ हजार मेट्रिक टनभन्दा माथि पुगेको छ ।

    यसका कारण जिल्लाको कुल उत्पादन मूल्यमा गत वर्षको तुलनामा करिब २० करोडले वृद्धि भएको छ । यसरी हेर्दा भीरकोट–७ मात्र होइन, सिङ्गो स्याङ्जा जिल्ला नै सुन्तलाखेतीको बलियो आधारका रुपमा स्थापित हुँदै गएको देखिन्छ । व्यवस्थित बगैँचा, प्राविधिक सहयोग, सुनिश्चित बजार र आकर्षक मूल्यका कारण सुन्तलाखेतीले कृषकलाई आत्मनिर्भर बनाउँदै लगेको छ । आगामी वर्षहरुमा उत्पादन अझै वृद्धि हुँदै जाने र यसले स्थानीय तथा जिल्ला अर्थतन्त्रमा थप योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend