काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा परिचालन गर्ने गरी नेपाल प्रहरीले ‘निर्वाचन प्रहरी’ भर्ना प्रक्रिया सुरु गरेको छ । शुक्रबारदेखि प्रहरीले आफ्नो कोटामा परेको निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त लिन थालेको छ । यस पटकको निर्वाचनमा प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गर्दैछ । त्यसका लागि अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।
यसपटक सशस्त्रले पनि निर्वाचन प्रहरीको कोटा पाएको छ । माघ २४ मा प्रहरी प्रधान कार्यालयले एक्लै सूचना निकालेपछि सशस्त्रका उच्च अधिकृतहरू छक्क परे । निर्वाचन प्रहरी भर्नाको कार्यविधिमा संयुक्त रूपमा भर्ना लिने भनिएको थियो । निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र पहरी बल, नेपाल) कार्यविधि–२०८२ लाई गृहमन्त्री ओमप्रकाश अर्यालले पारित गरेका थिए ।गृह मन्त्रालयबाट पारित कार्यविधि अनुसार दुवै सङ्गठनले संयुक्त सूचना निकाल्नुपर्ने सशस्त्रका अधिकृतहरू बताउँछन् । तर, प्रहरीले एकल सूचना प्रकाशन गरेपछि सशस्त्रका उच्च अधिकृतहरू गृह मन्त्रालयमा पुगेर त्यसबारे छलफल गरे । सशस्त्रको कार्य विभागका एआईजी गणेश ठाडा सहितका अधिकृतहरूले गृह मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका हुन् ।
सशस्त्रले भर्ना गर्ने भनिएको १५ हजार ११० म्यादी प्रहरी कसरी भर्ना लिने भन्नेबारे मन्त्रालयमा छलफल भएको सशस्त्रका एक जना अधिकृतले रातोपाटीलाई बताए । सशस्त्रका अधिकृतहरूले प्रहरीले सूचना निकाल्दा गृह मन्त्रालयले बनाएको कार्यविधि प्रहरीले ‘बेवास्ता’ आरोप लगाए । मन्त्रालयसँग राय लिएर सशस्त्र प्रहरी आफ्नो कोटामा परेको १५ हजार निर्वाचन प्रहरीको भर्ना जिल्ला सुरक्षा समितिमार्फत गर्ने निर्णयमा पुगेको छ । सशस्त्रका एक जना उच्च अधिकृत भन्छन्, ‘जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर भर्ना प्रक्रिया सुरु गर्ने निर्णय भएको छ ।’
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सशस्त्रको कोटामा परेको निर्वाचन प्रहरी भर्नाबारे निर्णय लिने अधिकार दिइएको छ । ती अधिकृत भन्छन्– ‘जिल्ला तहमा कुनै निर्णय लिनुपरेमा जिल्ला सुरक्षा समितिबाट निर्णय गर्ने गरी गृह मन्त्रालयबाट सहमति आएको छ ।’नेपाल प्रहरीले माघ १ सम्म दरखास्त लिने र त्यसपछि तालिम दिने कार्यतालिका प्रकाशन गरिसकेको छ । बिदाको दिन पनि दरखास्त लिने प्रहरीले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।सशस्त्र प्रहरीले परिचालन गर्ने निर्वाचन प्रहरी भर्नाबारे प्रक्रिया थालिएको छैन । मतदान स्थलको आधारमा जिल्लागत सङ्ख्या यकिन गरेर जिल्ला प्रशासन कार्यालयमा पठाइने र जिल्ला प्रशासनले सूचना प्रकाशन गर्ने सशस्त्रका एक जना उच्च अधिकृतले जानकारी दिए ।




.gif)





