images

२०८३ आश्विन १६ गते

images
images
images

झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • सुरुङ्गा (झापा), २४ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी झापामा तीव्र पारिएको छ । निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना तथा सरोकारवाला निकायबीच समन्वयलाई प्रभावकारी बनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको औपचारिक तयारी सुरु गरेको हो ।

    images
    images

    निर्वाचन तयारीका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले बुधबार आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पाँचवटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि सञ्चालनमा ल्याइनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा रहनेछ ।

    झापा निर्वाचन क्षेत्र नम्बर १ का लागि मेचीनगर नगरपालिका कार्यालय, क्षेत्र नम्बर २ का लागि अर्जुनधारा नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर ४ का लागि कन्काई नगरपालिकास्थित अतिथि सदन भवन र क्षेत्र नम्बर ५ का लागि दमकस्थित अग्र्यानिक कृषि भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो ।

    images
    images

    निर्वाचन अधिकृतका कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर, विद्युत्, खानेपानी तथा इन्टरनेट सुविधाको व्यवस्थापनमा सम्बन्धित स्थानीय तहले सहकार्य गर्ने निर्णय गरिएको छ । साथै निर्वाचन अवधिभर निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।

    बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारी, सञ्चारमाध्यम र सञ्चारकर्मी लगायत सबै सरोकारवालाले निर्वाचन आचारसंहिता–२०८२ को पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन कार्यालय झापाले राजनीतिक दल तथा सरोकारवालालाई निर्वाचन प्रक्रिया र कार्यतालिकाबारे जानकारी गराएको छ । 

    प्रमुख जिल्ला अधिकारी गेलालको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकमा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले उम्मेदवार मनोनयनदेखि मतदानसम्मको कार्यतालिका प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता तथा सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने, माघ ७ र ८ गते उजुरी तथा मनोनयनपत्रमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम फिर्ता लिने तथा माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ । 

    निर्वाचन सुरक्षाका लागि झापामा चार हजार ७४८ जना ‘निर्वाचन प्रहरी’ परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार नेपाल प्रहरीतर्फ चार हजार २५९ र सशस्त्र प्रहरी बलतर्फ ४८९ जना परिचालन गरिनेछन् । भर्ना प्रक्रिया यसै सातादेखि सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

    झापामा २८५ मतदानस्थल र ८१५ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसमेत परिचालन गरिनेछ । यसैगरी, समानुपातिकतर्फको मतदानका लागि जिल्ला कारागार झापा, कर्मचारी मिलन केन्द्र तथा दमकमा थप एक गरी तीनवटा अस्थायी मतदान केन्द्र स्थापना गरिने जानकारी दिइएको छ । 
     
    झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेललाई दिइएको छ । उहाँले झापा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको जिम्मेवारीसमेत सम्हाल्नुहुनेछ । त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर १ का लागि गोसप विश्वकर्मा, क्षेत्र नम्बर २ का लागि महेशप्रसाद खत्री, क्षेत्र नम्बर ४ का लागि भीमप्रसाद भुर्तेल र क्षेत्र नम्बर ५ का लागि विदुरकुमार कार्कीजीलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन अधिकृत तथा कार्यालय तोकिसकिएकाले माघ २ गतेदेखि औपचारिक रूपमा निर्वाचन कार्यालय सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend