images

२०८३ आश्विन १६ गते

images
images
images

विकासका लागि समन्वय गर्दै चितवनका पालिकाहरू

विकासका लागि समन्वय गर्दै चितवनका पालिकाहरू

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • चितवन । जिल्लाका सात पालिका र सीमाका पालिकाले विकासका लागि आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने सहमति गरेका छन् ।कालिका नगरपालिकाले दोस्रो पटक आफ्नो नगरभित्र सबै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निमन्त्रणा गरेर विकासमा समन्वय गर्दै अघि बढ्न समन्वयात्मक बैठक राखेको हो ।बैठकमा सहभागी जनप्रतिनिधिहरूबीच संयुक्त रूपमा फोहर व्यवस्थापन गर्ने, चेपाङलगायत विपन्न बालबालिकाको शिक्षाका लागि संयुक्त काम गर्ने विषयमा छलफल भएको थियो । छलफलपछि विपन्न बालबालिकालाई आवासीय सुविधासहित छात्राबास बनाउने विषयमा छलफल भएको छ ।

    images
    images

    भूमि वर्गीकरणमा एकरुपता ल्याउने, त्रिशूली डाइभर्सनको कामलाई अघि बढाउन पहल गर्ने, शक्तिखोरको औद्योगिक क्षेत्र यथाशीघ्र बनाउन पहल गर्नेलगायत विषयमा छलफल भएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिए।उनका अनुसार जिल्लामा रहेका गौरवका आयोजना सम्पन्न गर्ने र थप आयोजना भित्र्याउनका लागि संयुक्त प्रयास गर्ने, कृषि उत्पादनको बजारीकरणमा संयुक्त पहल गर्ने विषयमा छलफल भएको छ । उनले भने, “पर्यटनका क्षेत्रमा पनि मिलेर काम गर्ने विषयमा छलफल भएको छ ।”

    चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु हेर्न आएका पर्यटकलाई ट्रेकिङमार्फत जिल्लाका पहाडी चेपाङ बस्तीसम्म पुर्‍याएर हिमाल देखाउने विषयमा सबै सहमत भएका नगरप्रमुख रेग्मीले बताए । यससँगै यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन सकिने उनीहरूको राय थियो ।समग्र जिल्लालाई जोड्ने गरी रिङरोड बनाउने, खैरहनीमा रहेको कृषि क्याम्पसलाई थप व्यवस्थित गर्न सबै पालिकाले पहल गर्ने, शक्तिखोर आसपासका उद्योगलाई शक्तिखोर औद्योगिक क्षेत्रसँग जोड्ने विषयमा छलफल भएको छ ।जिल्लाका पहाडी क्षेत्रमा उत्पादन हुने गाँजाखेतीलाई नष्ट गर्ने काम बन्द गरी कानुनतः खेती गर्न पाउने व्यवस्था गर्न आवश्यक पहल गर्ने विषयमा पनि बैठकमा छलफल भएको रेग्मीले बताए।

    images
    images

    सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सबै पालिका मिलेर संयुक्त रूपमा काम गरेमा सहज हुनुका साथै जनअपेक्षा अनुसार नतिजा हासिल हुने धारणा राखे । कतिपय काम संयुक्त रूपमा गर्दा व्ययभार कम हुने भन्दै उनले बैठक नियमित गर्न सुझाव दिए।बैठकमा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, खैरहनी नगरपालिकाका प्रमुख शशि खनिया, माडी नगरपालिकाका प्रमुख ताराकाजी महतो, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा, धादिङको बेनिघाट–रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियालगायत पालिकाका उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र पालिकाका महाशाखा प्रमुखहरूले आफ्नो धारणासहित सुझाव राखेका थिए । दुई महिनाभित्रमा उठेका विषयलाई एकताबद्ध गरी विकासका लागि योजनाबद्ध खाकासहित रत्ननगर नगरपालिकाको आयोजनामा बैठक बस्ने सहमति भएसँगै आजको बैठक सम्पन्न भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend