images

२०८३ आश्विन १८ गते

images
images
images

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • गण्डकी, ३ पुसः भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सर सहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा बुधबार गन्तव्य प्रवर्द्धन कार्यक्रम गरिएको हो । 

    images
    images

    भ्रमणका क्रममा बागलुङ नगर पर्यटन विकास समितिले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले धार्मिक पर्यटनका हिसाबले प्रदेशमा प्रचुर सम्भावना रहेको बताएका थिए। “पर्वत, बागलुङ लगायत सिङ्गो धवलागिरि र प्रदेशमा महत्त्वपूर्ण धार्मिक सम्पदा र तीर्थस्थल छन्”, उनले भने, “प्रकृति र संस्कृतिले पनि यो क्षेत्र धनी छ, यिनको विकासमा सबैले हातेमालो गर्न जरुरी छ ।”

    मन्त्री बस्यालले ‘भारत–नेपाल टुरिज्म मिट’ सन्दर्भमा भएको प्रवर्द्धनात्मक भ्रमणले यस क्षेत्रमा भारतीय धार्मिक पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
     बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले यस्ता कार्यक्रमले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने र पर्यटनलगायत क्षेत्रमा साझेदारी र सहकार्यका अवसर सिर्जना हुने बताएका थिए। नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रेम भट्टराईले नेपाल–भारतबीच पर्यटन क्षेत्रका सम्भावना र अवसर पहिल्याउनका लागि कार्यक्रम महत्त्वपूर्ण हुने बताएका थिए।

    images
    images

    पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले नेपालमा धेरै पर्यटक पठाउने भारतीय टुर अपरेटर कम्पनी भ्रमणमा सहभागी रहेको जानकारी दिए। सामाजिक सञ्जाल मार्फत भारतीयमाझ यहाँका गन्तव्यस्थलको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरू पनि भ्रमणमा सहभागी रहेकाले पर्यटन गन्तव्य प्रवर्द्धनमा थप टेवा पुग्ने उनले उल्लेख गरे। 

    होटल व्यवसायी महासङ्घ, गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बागलुङका गन्तव्यस्थलको प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको बताएका थिए। उनले भारतीय पर्यटकलाई यहाँका धार्मिक गन्तव्यस्थलमा आकर्षित गर्न सके पर्यटनले ठूलो फड्को मार्ने धारणा राख्नुभयो । भारतको उत्तर प्रदेशको पर्यटन विभागका सहनिर्देशक दिनेशकुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

    कालिका भगवती मन्दिर अवलोकनकमा क्रममा उक्त मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष निशान खड्काले मन्दिरको इतिहासबारे जानकारी गराएका थिए। उनका अनुसार पाँच सय वर्ष पुरानो कालिका भगवती यस क्षेत्रकै प्रसिद्ध धार्मिकस्थल हो ।
    यस्तै, बागलुङ नगरपालिका–४ कुँडुलेमा अवस्थित शालिग्राम सङ्ग्रहालयबारे सङ्ग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी गराएका थिए। सुरुङभित्र बनेको संरचनामा सवा लाख शालिग्राम सङ्ग्रह गरिएका छन् । शालिग्रामलाई हिन्दु धर्मवालम्बीले विष्णु भगवान्का रुपमा पूज्ने गर्छन् । उक्त अवसरमा कालीगण्डकी सभ्यता र मुक्तिक्षेत्रको महिमाबारे पनि चर्चा गरिएको थियो । 

    पर्वतको मोदीवेणी धाम र त्यहाँ रहेको नृसिंह भगवान्को मन्दिरबारे मन्दिर गुठीका अध्यक्ष केशवदास बैरागीले जानकारी गराए । विसं १८९० मा स्थापना गरिएको उक्त मन्दिर वैष्णव समुदायको पवित्र तीर्थस्थलका रूपमा परिचित छ । 

    पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा सहकार्यमा आयोजित गन्तव्य प्रवद्र्धन कार्यक्रम सोमबार देखि सुरु गरिएको थियो । उक्त टोलीले सुनौली नाका हुँदै चितवनको सौराहा आएको थियो । मङ्गलबार तनुहँको बन्दीपुर हुँदै कास्कीका विभिन्न क्षेत्र सहित बेगनासको प्रवर्द्धनात्मक भ्रमण गरिएको थियो । 

    आज बिहान पोखराको पुम्दीकोट भ्रमण गर्ने कार्यक्रम रहेको आयोजक पोखरा पर्यटन परिषद्ले जनाएको छ । आज साँझ पोखरामै दुवै देशका सरकारी प्रतिनिधि, टुर अपरेटर, व्यवसायी लगायतको उपस्थितिमा दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’को आयोजना हुने परिषद्का महासचिव सापकोटाले जानकारी दिए।रासस 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend