काठमाडौं। सरकारको सार्वजनिक ऋणको हिस्सा २७ खर्ब नाघेको छ । सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिक मसान्तसम्मको अवधिमा नेपालको सार्वजनिक ऋणमध्ये बाह्य हिस्सा १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ भने आन्तरिक तर्फको यस्तो ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यो सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४.६९ प्रतिशत हो ।
चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले सुरुका चार महिनाको अवधिमा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण परिचालन गरेको छ ।वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब २७ अर्ब ६१ करोड साँवा र बाँकी २३ अर्ब २७ करोड रुपैयाँ ब्याज हो ।
सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ । यस कारण उक्त अवधिमा उठाइएको १ खर्ब ३८ अर्ब ७५ करोड रकममा साँवा भुक्तानीमा खर्च भएको १ खर्ब २७ अर्ब ६१ करोड घटाइन्छ । विदेशी मुद्राको विनिमयदरमा परिवर्तन आउँदा भएको ४४ अर्ब २२ करोड जोड्दा गएको दुई महिनामा ५५ अर्ब ३६ करोड सार्वजनिक ऋण थपिएको छ ।




.gif)





