रेसुङ्गा(गुल्मी), मङ्सिर १ गते । कफीको जननी भनेर चिनिने गुल्मीलाई पहिचान जोगाउन सकस देखिएको छ । बजार, कफीमा लाग्ने गवारो, प्राविधिक सचेतनाको अभाव, तिव्र बसाइँसराइ लगायतका कारणले कफी खेतीको आर्कषण जोगाएर राख्न समस्या छ । कफी कृषक, निकाय र स्थानीय तहले बारेमा गहन छलफल गर्न भन्दै ‘कफी खेती गरौँ स्वरोजगार बनौ’ भन्ने मुल नाराका साथ २१ औ राष्ट्रिय कफी दिवस कफीको उद्गम स्थल आँपचौरमै मनाए । मुसिकोट नगरपालिका–५ आँपचौरमा भेला भएका कफीका सरोकारवालाले कफी उत्पादन, बजारीकरणमा देखिएका चुनौतीका विषयमा छलफल गरेका छन् ।
मुसिकोट नगरपालिका ५ आपँचौरका डिल्लीराज अर्यालले गत वर्षबाट व्यवसायीक कफी खेती सुरु गर्नुभएको छ । उहाँकोमा एक हजार ८०० कफीको बोट र ३० हजार बिरुवाको नर्सरी छ । ४० रोपनी जग्गा खरिदसहित करिव ४० लाख रुपियाँको लगानी गर्नुभएको अर्यालले पनि आफ्नो पहिलो चुनौति गवारो र बजार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एग्रो टुरिजमको सपना बोकेर कफीमा लगानी गरेको हुँ । मेरा अगाडी गवारो र बजार ठूलो चुनौति छ ।” उहाँले दिवसको कार्यक्रममा जिल्लाका कफीको क्षेत्रमा काम गर्ने थुप्रै कार्यालयहरु सहभागी भएपनि गवारो नियन्त्रणको बिषयमा अनबिज्ञ रहेको बताउनुभयो ।
जिल्लाका करिब एक दर्जन संघ÷संस्थाले कफीको क्षेत्रमा काम गर्छन् । आँपचौरमा तत्कालिन राजा विरेन्द्रले बिस २०४१ सालमा स्थापना गरेको कफी विकास केन्द्र छ । केन्द्रको मुख्य उदेश्य देशभरका कफी किसान र प्राबिधिकलाई तालिम, समस्यामा सहजीकरण, कार्यमुखी अनुसन्धान र नीति निर्माणमा सरकारलाई कफीको सम्बन्धी सुझाब दिने रहेको छ । केन्द्रले आपचौरमै १८४ रोपनी जग्गा खरिद गरेरक करिब १२ हजार कफीका विरुवा रोपेको छ । गवारो नियन्त्रणका थुप्रै उपाय हुँदा पनि किसानकै असावधानीका कारण गवारो ठूलो विषय भएको कफी विकास केन्द्र आँपचौरका कार्यालय प्रमुख राहुल पाण्डेयले बताउनुभयो । नेपाल सरकारद्वारा देशमै पहिलो पटक ०७१ साल बैशाख ३ गते कफी अनुसन्धान कार्यक्रम गुल्मीमै सुरु ग¥यो । रुरु क्षेत्र गाउँपालिका–४ को भण्डारी डाँडामा कफि अनुसन्धान कार्यक्रम स्थापना भएको दशक बिते । कार्यक्रमकै नाममा करोडौका संरचना निर्माण भएका छन् । सुरुमा १० जातका बिउबाट कफी अनुसन्धान सुरु गरिएको थियो । अहिले भण्डारीडाँडामा ४४ जात पु¥याएको भएपनि कफीमा लाग्ने सेतो गवारो निर्मूल गर्ने उपाय पत्ता लागेको छैन् । कार्यक्रमले अहिले कफिको बोट, फल, बिउ, माटो, बिरुवा, उत्पादनदेखि जातिय परिक्षण गरिरहको कफि अनुसन्धान कार्यक्रमका प्रमुख बैज्ञानिक जर्नादन गौतमले बताउनुभयो । गुल्मी जिल्लामा २४१ हेक्टरमा कफि खेति गरिएको छ । जिल्लाभर बार्षिक ३५ देखि ४० मेट्रिकटन कफि कफि उत्पादन हुँदै आएको छ । २०५४ सालमाबाट जापानमा कफी बिक्री गर्दै आएको जिल्ला सहकारी संघ गुल्मीले गुल्मेली अर्गानिक कफि बेलायत र स्विजरल्याण्ड निर्यात गर्न थालेको छ ।
मुसिकोट नगरपालिकालाई कफीको पहिचान जोगाउनुपर्ने चुनौति छ । नगरपालिकाले ‘कफि रोपौ आम्दानी बढाउँ’ अभियान अगाडी बढाएको छ । नगरपालिकाले सय बोट कफि रोपे १० हजार अनुदान र कफि किसानलाई सहुलियत कर्जाको व्यावस्था गरेपछि कफि किसान उत्साहित भएको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताउनुभयो । त्यस्तै मदाने, रुरु, छत्रकोट लगायतका स्थानीय तहले पनि कफीको क्षेत्रमा काम गरिरहेका छन् । कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले जिल्लाको कफीको पहिचान जोगाउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा आएको बताउनुभयो । उहाँले गाउँ–गाउँमा बृहत रुपमा कफी रोप्ने, बिउ, मल, प्राविधिक सहयोग र अनुदानमा स्थानीय लागे राम्रो गर्न सकिने खत्रीले बताउनुभयो ।




.gif)





