काठमाडौँ । कात्तिक २३, कामना सेवा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कामना सेवा फुटसल कपको पाँचौं संस्करण शनिबार सम्पन्न भएको छ।
पुरुष तर्फको फाइनल खेलमा सिद्धार्थ बैंकले प्राइम कमर्शियल बैंकलाई २–० ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको छ। त्यस्तै, महिला तर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई १–० ले हराउँदै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो।
वार्षिकोत्सवको अवसरमा कामना सेवा विकास बैंकले प्रत्येक वर्षजस्तै यस वर्ष पनि फुटसल प्रतियोगिता आयोजना गरेको हो। विजेता तथा उपविजेता टोलीलाई बैंकको तर्फबाट ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको उद्घाटन बैंकका डिपुटी सीईओ विनय दाहालले एन्फा रेफ्री अन्जना सुनुवारलाई बल हस्तान्तरण गरी गर्नुभएको थियो भने समापन समारोहमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गानाले पुरस्कार वितरण गर्नुभएको थियो।
यस वर्षको प्रतियोगितामा पुरुषतर्फ १७ टिम र महिलातर्फ ९ टिमको सहभागिता रहेको थियो। कार्यक्रममा बैंकका विभिन्न विभागीय प्रमुख र कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आउँदो कार्तिक २७ गते, बिहीबार देशव्यापी रूपमा रक्तदान कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ।




.gif)





