झापा । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिकमा झापामा ३१७ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय झापाकी सूचना अधिकारी जानकी भट्टराईका अनुसार तीन महिनाको अवधिमा उद्योगतर्फ १४५ र वाणिज्यतर्फ १७२ फर्म दर्ता भएका हुन्। सोही अवधिमा उद्योगतर्फ ३३५ र वाणिज्यतर्फ ३३२ गरी कुल ६६७ उद्योग नवीकरण गरिएको उनले जानकारी दिइन्।
उनका अनुसार पहिलो त्रैमासिकमा उद्योगतर्फ ३८ र वाणिज्यतर्फ २५ गरी ६३ उद्योग खारेज भएका छन्। त्यस्तै तीन उद्योगको ठाउँसारी, १६ उद्योग नामसारी, १४ उद्योगको नाम परिवर्तन तथा १० उद्योगले उद्देश्य थपेका छन्।
सूचना अधिकारी भट्टराईका अनुसार कार्यालयमा आएर उद्योग बन्द गराउने संख्या कम भए पनि नवीकरण नगरेका धेरै उद्योग स्वतः बन्द भइसकेका छन्। उनले भनिन्, “विभिन्न कारणले उद्योग बन्द हुने संख्या रहे पनि नयाँ उद्योग दर्ता हुने क्रम बढ्दो छ।”
कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न शीर्षकबाट ५४ लाख ३९ हजार २०० रुपैयाँ राजस्व सङ्कलन गरेको पनि जानकारी दिइएको छ।




.gif)





