काठमाडौँ । कात्तिक ६, यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूलको अभाव देखिएको छ। गत वर्षको तुलनामा यो वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूले बताएका छन्।
सामान्यतया असोज अन्त्यतिर मखमली, सयपत्री र गोदावरी फूल फुल्ने गरे पनि यो वर्ष मौसम अनुकूल नहुँदा अधिकांश बोटमा अहिले पनि कोपिला मात्रै रहेका छन्। यसले गर्दा तिहार नजिकिँदै जाँदा फूलको माग उच्च भए पनि आपूर्ति घटेको छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाकी स्थानीय किसान दुर्गा विष्टका अनुसार, असिनापानी र असामान्य तापक्रमका कारण फूल समयमा फुल्न सकेन। उनले भनिन्, “तिहारका लागि लगाइएको फूल मौसम अनुकूल नहुँदा फुल्न ढिलो भयो, अहिले पनि धेरै बोटमा कोपिला मात्रै छन्।”
स्थानीय व्यापारीहरूका अनुसार उत्पादन घटेकाले बजारमा फूलको माग पुर्याउन कठिनाइ भएको छ। माग बढ्दै जाँदा यस वर्ष फूलको मूल्य पनि बढ्ने अनुमान गरिएको छ।
किसान र व्यापारी दुवै पक्षले तिहारका मुख्य दिनहरूमा फूलको अभाव अझै बढ्ने आशंका व्यक्त गरेका छन्।




.gif)





