काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो तीन महिनामा सरकारले कुल बजेटको करिब १८ प्रतिशत खर्च गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्त सम्ममा कुल रु ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख खर्च भएको छ, जुन वार्षिक विनियोजनको १८.५६ प्रतिशत हो। सरकारले यस आर्थिक वर्षका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो।
कार्यालयका तथ्यांक अनुसार असोज मसान्तसम्म चालु खर्च शीर्षकमा वार्षिक विनियोजनको २१.७५ प्रतिशत अर्थात् रु २ खर्ब ५६ अर्ब ८० करोड ६० लाख खर्च भएको छ। त्यस्तै पुँजीगत खर्चमा मात्र ४.७ प्रतिशत अर्थात् रु १९ अर्ब १८ करोड ३४ लाख खर्च भएको छ। वित्तीय व्यवस्थापन शीर्षकमा भने २३.६१ प्रतिशत अर्थात् रु ८८ अर्ब ६० करोड खर्च भएको छ।
यस अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६.५१ प्रतिशत पुगेको छ।
सरकारले यो वर्षका लागि रु १५ खर्ब ३३ अर्ब ३३ करोड ४४ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। हालसम्म रु २ खर्ब ५३ अर्ब १८ करोड ७९ लाख असुली भएको छ।
आन्तरिक राजस्वतर्फ सरकारको लक्ष्य रु १४ खर्ब ८० अर्ब रहेकोमा असोज मसान्तसम्ममा वार्षिक लक्ष्यको १६.८३ प्रतिशत अर्थात् रु २ खर्ब ४९ अर्ब ५ करोड १४ लाख संकलन भएको छ।
त्यस्तै, रु ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य रहेकामा हालसम्म केवल ३.७६ प्रतिशत अर्थात् रु २ अर्ब ७२ लाख मात्र प्राप्त भएको कार्यालयले जनाएको छ।




.gif)





