काठमाडौँ । असोज २८, दाङ राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकायले आठ वर्षदेखि केरा खेती गर्दै आएका छन्। उनले केरा खेतीबाट वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
रासायनिक मलको प्रयोग बढी हुँदै गरेको बेला केरा खेतीले माटोलाई मलिलो बनाउँदै आम्दानी हुने भएकाले रोकायले यसमा लगानी गरेका हुन्। उनले भने, “अरू खेतीपातीभन्दा केराबाट आम्दानी बढी हुने देखेर यसमा लागेको हो। पहिले म फेन्सी व्यवसाय गर्दै थिएँ, अहिले त्यो छोडेर केरा खेतीमा लागेको छु।”
पहिले चार कट्ठा जमिनमा परीक्षणका रूपमा सुरु गरेको केरा खेती अहिले दुई बिघामा फैलिएको छ भने यस वर्ष थप साढे एक बिघामा विस्तार गर्ने तयारी भइरहेको छ। उनले जिनाइन र मालभोग जातका केरा खेती गरिरहेका छन्।
रोकायका अनुसार सिसहनियामा धेरै किसानले पनि केरा खेती थालेका छन्। गत वर्ष केराको व्यापार राम्रो हुँदा एक याममा रु चार पाँच लाख आम्दानी भएको थियो। तर यस वर्ष भारतीय केराले नेपाली बजार कब्जा गरेपछि मूल्यमा गिरावट आएको छ। “भारतीय केरा सस्तो हुने र नेपाली केरा बिक्रीमा समस्या हुँदा किसानहरू मर्कामा परेका छन्,” उनले भने।
व्यापारीहरूले दर्जनको रु २०,२५ मा मूल्य निर्धारण गरेपछि किसानहरूलाई फाइदा पुगेको छैन। रोकायले स्थानीय तह र प्रदेश सरकारले प्राविधिक तथा विशेष सहयोग गर्नुपर्नेमा जोड दिँदै भने, “हामी आफैले किसान, विशेषज्ञ र व्यापारी बन्नुपर्ने भएकाले थप समस्या भइरहेको छ। सहयोग भए खेती सजिलो हुने थियो।”
केरा प्रवर्द्धन कृषक समूह गठन भइसकेको छ, जसले किसानका समस्याहरू छलफल गरेर समाधान खोज्ने काम गरिरहेको छ। केराको बिक्री, काँटछाँट, रेखदेख र मल हाल्न तीन स्थानीयलाई रोजगार दिइएको छ भने तुलसीपुर, घोराही, लमही र बुटवलका व्यापारीले केराको खरिदमा सक्रियता देखाएका छन्।
कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार आव २०८१।०८२ मा जिल्लामा ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केरा खेती भएको थियो र ९,९७३ मेट्रिकटन केराको उत्पादन भएको छ। उनले केरा खेतीको सम्भावना प्रशस्त रहेको बताउँदै किसानलाई अनुदान समेत दिइने जानकारी दिएका छन्।




.gif)





