काठमाडौँ । असोज १७, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच वटा प्रदेशमा चार दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेकाले अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न आग्रह गरेको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार असोज १७ गते शुक्रबार देखि असोज २० गते सोमबार सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम देखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानको आधारमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो।
वर्षाका कारण नारायणी, बागमती, कमला र कोशी नदीमा जलस्तर खतरा तहसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ। यस्तै, साना नदी तथा खोला नालामा आकस्मिक बाढीको सम्भावना पनि उच्च रहेको बताइएको छ।
खासगरी बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लामा उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले निम्न बुँदामा ध्यान दिन अनुरोध गरेको छः
अत्यावश्यक नभए यात्रा नगर्न, विशेषगरी रातिको समयमा
सम्भावित जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन
स्थानीय तह र सुरक्षाकर्मी तयारी अवस्थामा रहन
पहिरोको जोखिम भएका क्षेत्रमा सचेत रहन
डुबान सम्भावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानको जानकारी राख्न
डोजर, एक्साभेटर, लोडरजस्ता उद्धार साधन तयारी अवस्थामा राख्न
साथै, जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिहरूलाई पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिइएको छ।




.gif)





