वासिङ्टन डिसी । रुसमाथि कडा प्रतिबन्ध लगाउन आफू तयार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । तर नेटो देशहरूले केही सर्तहरू पूरा गरे भने मात्रै यो सम्भव हुने उनले बताएका छन् । यसमा रुसी तेलको खरिद रोक्नु पर्ने सर्त पनि समावेश छ । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले यो कुरा लेखेका हुन् । पोस्टमा उनले आफू रुसमाथि ठुला प्रतिबन्ध लगाउन तयार भएको तर नेटो देशहरू यसमा सहमत भएर कार्यान्वयन गर्न थाले भने मात्रै लागू हुने बताए ।
ट्रम्पले बारम्बार रुसविरुद्ध कडा कदम चाल्ने धम्की दिँदै आएका छन् । रुसले आफ्नो समयसीमा र चेतावनीलाई बेवास्ता गरे पनि ट्रम्पले अहिलेसम्म त्यस्तो कुनै कदम चालेका भने छैनन् । नेटोले चीनमाथि ५० देखि १०० प्रतिशतसम्म ट्यारिफ लगाउनुपर्ने सुझाव पनि उनले दिएका छन् । यसले रुसमाथि चीनको बलियो पकड कमजोर बनाउने ट्रम्पको तर्क छ । पोस्टलाई ट्रम्पले नेटो देशहरूलाई पत्र भनेका छन् । ‘म तयार छु, जतिबेला तिमीहरू तयार उनेछौँ । मलाई तिमीहरू मनै भन कि कहिले ?’ ट्रम्पले पोस्टमा भनेका छन् ।
केही देशहरूले रुसी तेल खरिद गर्नु स्तब्धकारी कुरा भएको उनले बताएका छन् । यसले रुससँगको छलफल र मोलमोलाइमा ती देशको स्थितिलाई कमजोर बनाउनेमा उनले जोड दिएका छन् ।चीनमाथि भारी शुल्क लगाउनुका साथै रुसी ऊर्जा खरिद रोक्नाले युद्ध अन्त्य गर्न धेरै मद्दत गर्ने दाबी पनि उनले गरेका छन् । चीन र भारत रुसका सबैभन्दा ठुला ऊर्जा खरिदकर्ता हुन् । तेल खरिद बन्द नगरेको भन्दै ट्रम्पले पहिले नै भारतमा ५० प्रतिशत ट्यारिफ लगाइसकेका छन् । यसले रुसलाई युक्रेनमा युद्ध रोक्न दबाब दिने उनको दाबी छ । चीन र भारत मात्रै होइन नेटोका कयौँ सदस्य देशसहित युरोपेली देशहरूले पनि रुसबाट ठुलो मात्रामा तेल किन्छन् ।




.gif)





