images

२०८३ आश्विन १५ गते

images
images
images

पहिरोले सडक अवरुद्ध हुँदा विद्यालय बन्द

पहिरोले सडक अवरुद्ध हुँदा विद्यालय बन्द

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–९  खल्ला मसेट्टी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा पठनपाठन बन्द भएको हो ।विभिन्न स्थानमा सडकमाथिबाट आएको पहिरोका कारण विद्यार्थीलाई विद्यालय आवागमनमा समस्या हुने भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षक सुरज जोशीले जानकारी दिए । ‘सडकका विभिन्न स्थानमा पहिरो आएको छ, आवतजावत गर्न निकै समस्या छ’, उनले भने, ‘नियमित सडक सञ्चालन नभएसम्म विद्यालयमा पठनपाठन गर्न सकिने अवस्था छैन ।’

    images
    images

    ‘यहाँको दुर्गम बस्ती खल्ला, मसेट्टी र टुँडिखेलको भौगोलिक बनावट पहाडी भेगको जस्तै छ । महेन्द्रनगर सदरमुकामबाट यहाँ पुग्न चुरे भएर बग्ने १३ वटा खहरेखोला तर्नुपर्दछ । यहाँ वर्षा हुँदा खोलामा आउने बाढीका कारण पनि विद्यार्थीहरूलाई आवागमनमा सास्ती हुन्छ’, जोशीले भने ।आइतबारदेखि यहाँ भारी वर्षा भइरहेकाले सडकमाथिबाट आएको पहिरोले भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जाने सडक र विद्युत सेवा अवरुद्ध भएको भीमदत्त–९ का वडाध्यक्ष गगनसिंह कार्कीले जानकारी दिए । ‘पहिरोले विद्युत्का खम्बामा समेत क्षति गरेको छ भने हालसम्म सडक खुलाउन सकिएको छैन’, उनले भने, ‘सडक अवरुद्ध भएपछि खल्ला मसेट्टी आवतजावत बन्द भएको छ ।’

    भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख केशवसिंह विष्टले वर्षाका कारण खल्ला मसेट्टीमा सडक र विद्युत् सेवा अवरुद्ध भएको बताए। ‘लगातारको वर्षाका कारण पहिरो हटाउने काम गर्न सकिएको छैन’, उनले भने, ‘विद्युत् र सडक सञ्चालनका लागि प्रयास भइरहेको छ ।’कञ्चनपुरको दुर्गम भेगका रूपमा चिनिने भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुँडिखेल विकासका पूर्वाधारबाट पछाडि परेको छ । उक्त बस्तीमा चार सय ७० परिवारको बसोबास छ । वर्षातमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend