काठमाडौ । भक्तपुर, चाँगुनारायण नगरपालिका–१ बेँसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि करिब १४० घरपरिवार उच्च जोखिममा परेका छन्।
लगातार परेको वर्षाका कारण खोलाको बहाव बढेर बस्ती नजिक पुगेपछि स्थानीयहरू त्रसित भएका छन्। बाढीको जोखिम बढेपछि खोलाको बहाव बस्तीबाट फर्काउने अस्थायी काम सुरु गरिएको वडा नम्बर १ का वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए।
उनका अनुसार चाँगुनारायण–१ बेँसी र कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीको समन्वयमा तत्काल खोला फर्काएर बस्ती सुरक्षित राख्ने प्रयास भइरहेको छ। “हाललाई अस्थायी समाधान गरिरहेका छौं, स्थायी समाधानका लागि तीनवटै नगरपालिकाबीच समन्वय गरिनेछ,” वडाध्यक्ष कार्कीले बताए।
चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले मनोहरा करिडोर निर्माणको योजना अघि बढाइएको र त्यसका लागि बजेट व्यवस्थापनको पहल भइरहेको जानकारी दिए।
बाढीका कारण चाँगुनारायण–१ दुवाकोटतर्फको जमिन कटानमा परेको छ भने खोलामा निर्माणाधीन पुलतर्फ जाने सडक समेत बगाएको छ। खोलाको धार बस्ती नजिक पुगेपछि स्थानीयहरू डरमा बसेका छन्।




.gif)





