काठमाडौंः भदौ २, बैतडीको दोगडाकेदार गाउँपालिका–६ डोलबासी बस्तीका बासिन्दा हरेक वर्षझैं यस वर्ष पनि वर्षा सँगै पहिरोको त्रासमा छन्। विसं २०१८ यता निरन्तर पहिरो खस्दै आएको यो बस्तीमा अहिले पनि दर्जनौं परिवार जोखिम मोलेर बसिरहेका छन्।
स्थानीय लोगसिंह भाटका अनुसार, वर्षा सुरु भए देखि नै रातमा निन्द्रा नलाग्ने स्थिति छ। “पहिरोले चारैतिर जमिन बगाइ सकेको छ,” उनले भने, “बस्ती पूरै जोखिममा छ तर आर्थिक अवस्था कमजोर भएकाले अन्यत्र सर्न सकिएको छैन।”
पहिरोको असरले बस्तीका अधिकांश घर बाङ्गा परिसकेका छन्। “विसं २०१८ को पहिरोले भित्रभित्रै जमिन भासिए पछि सबै घर बाङ्गा भएका छन्,” स्थानीय भोजराज जोशीले बताए।
डोलमा आएको पहिरोका कारण अहिलेसम्म नौ जनाको ज्यान गइसकेको छ भने दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिन बगाइ सकेको छ। यसले स्थानीयको जीविकोपार्जनमा समेत गम्भीर असर पारेको छ।
डोलका पुराना बासिन्दा अनुसार, पञ्चायतकालमै तत्कालीन राजा वीरेन्द्रबाट डोलबस्ती स्थानान्तरण गर्न हुकुम प्रमांगी दिइएको थियो। तर, यहाँ राजनीतिक खिचातानीका कारण स्थानान्तरणको प्रक्रिया कहिल्यै अगाडि बढ्न सकेन।
आर्थिक अवस्था सबल भएकाहरूले तराईमा बसाइँ सरे पनि गरिब र दलित समुदाय भने अझै पनि पहिरोको उच्च जोखिममा जीउज्यान जोगाउँदै बसिरहेका छन्।
स्थानीय रामदत्त जोशीका अनुसार, घरजग्गा गुमेपछि थुप्रैले बाध्यतावश बसाइँ सरेका छन्। हाल डोलमा करिब २० परिवार मात्रै बसोबास गर्दै आएका छन्।
पहिरोले वर्षेनी खानेपानीका मुहान बगाउने गरेको छ। “धमिलो पानी प्रयोग गर्न बाध्य छौँ,” स्थानीय बहादुर भुलले गुनासो गरे।
स्थानीयवासीहरू बस्ती स्थानान्तरण नै समस्या समाधानको स्थायी उपाय भएको बताउँछन्। तर, हालसम्म त्यसतर्फ कुनै प्रभावकारी पहल भएको छैन।




.gif)





