images

२०८३ आश्विन १६ गते

images
images
images

नेपाल बैंकले आम्दानी बढ्दा पनि लाभांश दिन नसक्ने

नेपाल बैंकले आम्दानी बढ्दा पनि लाभांश दिन नसक्ने

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३३ गुणा बढी हो । आव २०८०/८१ मा २ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो ।बैंकको खुदब्याज आम्दानी उल्लेख्य बढेको र अन्य आम्दानीमा सामान्य सुधार भएको छ । सम्भावित कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन पनि घटेको छ । जसले नाफामा उच्च वृद्धि भएको हो । बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ७२ लाख पुगेको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी ६.०८ प्रतिशतले बढेर १ अर्ब १७ करोड ५० लाख पुगेको छ । त्यस्तै नेट ट्रेडिङ आम्दानी र अन्य सञ्चालन आम्दानी पनि केही बढेर ६८ करोड रुपैयाँ पुगेको छ ।

    images
    images

    यता सम्भावित कर्जा नोक्सानी व्यवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । अघिल्लो आवमा ४ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेकोमा गत आवमा घटेर १ अर्ब १३ करोड ५६ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ । जसले बैंकको खुद सञ्चालन आम्दानीसँगै सञ्चालन नाफा पनि बढेको छ । बैंकको खुद सञ्चालन आम्दानी ९३.९८ प्रतिशतले बढेर १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ६९२.३८ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ छ । अघिल्लो आवमा बैंकको सञ्चालन नाफा ६८ करोड ३५ लाख रुपैयाँ थियो ।

    नाफा बढे पनि बैंकको अवकास पाएको कर्मचारीको पेन्सन दायित्वले गर्दा सञ्चित नोक्सानी कायम छ । बैंकको अवकास कोषमा रकम भएपनि त्यसको प्रभावकारी लगानी व्यवस्थापन हुन नसक्दा ब्याजदर घटेको समयमा त्यसको आम्दानीले पेन्सन दिन नपुगेको बैंकले जनाएको छ । जसको कारण बैंकले एक्चुअरीयल लसका कारण नियामकीय जगेडामा १ अर्ब ८६ करोड ३० लाख सारेको छ । यस्तै ब्याज उठाउन नसक्दा ६ करोड ४० लाख रुपैयाँ नियामकीय जगेडामा सारेको बैंकको गत आवको वितरणयोग्य नाफा ५१ करोड ६० लाख मात्रै छ । विगतको सञ्चित नोक्सानी केही घटेर ४४ करोड ९१ लाखमा आएको छ । अवकास कर्मचारीको पेन्सन र सञ्चित नाोक्सानीले नाफा बढे पनि बैंकले लाभांश दिन नसक्ने देखिन्छ ।

    images
    images

    १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि १९ पैसाबाट बढेर २५ रुपैयाँ ६८ पैसा छ । त्यस्तै जगेडा कोषमा २३ अर्ब ९३ करोड २० लाख रुपैयाँ छ । गत असारमा बैंकको प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ ८१ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ ।गत आर्थिक वर्षमा बैंकले निक्षेप करिब ४९ अर्बले बढाएर ३ खर्ब ३२ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै कर्जा २७ अर्बले बढाएर २ खर्ब २१ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ । कर्जा निक्षेप अनुपात ७०.७२ प्रतिशत मात्रै रहेको बैंकको अधिक तरलताको चापले गर्दा कर्जाको तुलनामा खुद ब्याज आम्दानी हुन सकेको छैन ।गत असारमा बैंकको प्राथमिक पुँजीकोष अनुपात १०.०५ प्रतिशत सहित कुल पूँजीकोष अनुपात १३.०६ प्रतिशत छ । निष्कृय कर्जा ४.३३ प्रतिशतबाट ४.४७ प्रतिशतमा पुगेको छ । आधार दर ५.५८ प्रतिशतमा झरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend