काठमाडौँः २६ साउन । कास्की,प्रहरीले पोखरामा सुनको अवैध कारोबारमा संलग्न एक ठूलो गिरोहको पर्दाफास गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले शनिबार ६ किलो ४०० ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाका अनुसार, पोखरा महानगरपालिकाका वडा नं। २, ३, ४ र ९ मा अवैध सुनचाँदीको कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो। भारतको महाराष्ट्र र पश्चिम बंगाल घर भई पोखराका विभिन्न स्थानमा बस्दै आएका उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरुको साथबाट बरामद गरेको सुनको बजार मूल्य रु. ११ करोड एक लाख रहेको जनाएको छ। सुनका साथै ४४४ तोला चाँदी र नगद रु। पाँच लाख १४ हजार समेत बरामद गरिएको छ।
पक्राउ पर्नेमा राजेन्द्र रामचन्द्र जगताप, सुनिता पवार, मनिकलाल आदक, असित वर, तापस सामन्त, उज्ज्वल भोमिक, सन्दिप ढाव, सोमनाथ पाल, दीपक सामन्त, गोविन्दा दिण्डा र प्रोभास माझी रहेका छन्।
पक्राउ परेका सबैलाई बरामद गरिएको सुन, चाँदी र नगदसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइने प्रहरीले जनाएको छ।




.gif)





