images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका...

उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस

उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • न्याय परिषद्ले उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। न्याय परिषद्ले लामो गृहकार्यपछि आज बिहान यो निर्णय गरेको हो।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। 

    images
    images

    बैठकले भट्टराईलाई उच्च अदालत  विराटनगर, कुवँरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरमा पदस्थापनका लागि पनि सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षत्रीले जानकारी दिए।  भट्टराई र कुँवर सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारबाट उच्च अदालतका न्यायाधीश भएका हुन्। उनीहरूलाई वरीयतामा अगाडि राख्न २०८० असोजमा न्याय परिषद्ले नियमावली नै संशोधन गरेको थियो। 

    प्रधानन्यायाधीश राउतसमेत रहेको संवैधानिक इजलासले हालै मात्र उक्त नियमावली कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।यसअघि गत मंगलबार न्याय परिषद्ले सर्वोच्च अदालतमा ३ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। तीमध्ये २ जना उच्च अदालतका मुख्यन्यायाधीश थिए। मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा सर्वोच्चमा सिफारिस भएपछि उनीहरूको खाली स्थानमा समेत गरी नयाँ मुख्य न्यायाधीश सिफारिस गरिएको हो।न्याय परिषद्को सिफारिसअनुसार प्रधानन्यायाधीश राउतले मुख्य न्यायाधीश नियुक्त गर्नेछन्।

    images
    images

    न्याय परिषद्को बैठकमा कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ताद्वय रामप्रसाद भण्डारी र दामोदर खड्का सदस्यका रूपमा उपस्थित थिए। भण्डारीको कार्यकाल असारमा सकिँदै छ। उनको ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेशप्रसाद नेपाललाई पठाउने गरी कुराकानी चलाएका छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend