काठमाडौंः सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिने कार्य तालिका तय भएको छ ।
बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय उपलब्ध गरिने छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था मिलाइएको छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रम मार्फत संसद्लाई सम्बोधन हुने कार्यक्रम छ ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ ।
यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले जानाकारी दिएका छन्। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ ।
त्यस अघि सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि बजेटकाृ बारेमा छलफल हुने छ । यो अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा सम्बन्धी विधेयक पारित गर्ने प्रयत्न हुने छ ।
अधिवेशन सञ्चालन सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानाकारी दिएका छन ।




.gif)





