काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ।प्राधिकरणले प्रतिकित्ता करीब ३०० रुपैयाँका दरमा शेयर बिक्री गर्न लागेको हो। चुक्ता पूँजी करीब तीन खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी प्राथमिक शेयर सर्वसाधारणलाई निश्कासन प्रस्ताव गरिएको छ।
प्रिमियम सहित प्राधिकरणको शेयरको मूल्य प्रतिकित्ता मूल्य करीब ३०० रुपैयाँ हुनेछ। यद्यपि, यसका लागि नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिनुपर्नेछ। प्राधिकरणको वार्षिक आम्दानी एक खर्ब १६ अर्ब र सम्पत्ति सात खर्ब रुपैयाँभन्दा बढी छ।
प्राधिकरणले क्रेडिट रेटिङमा यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ। इक्रा नेपालले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो। योसँगै प्राधिकरणले लगातार तेस्रोपटक ‘डबल ए प्लस’ रेटिङ पाएको छ।
वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्व लगायतको विश्लेषण गरी रेटिङ गरिएको हो। ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको बुझाउँछ। ‘डबल ए प्लस’ रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ।
क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ। यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने साङ्केतिक सूचकका रुपमा राय दिइन्छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणलाई शेयर निष्काशनका लागि महत्त्वपूर्ण मापदण्डको रुपमा रहेको संस्थाको रेटिङ सम्पन्न भएको, संस्थाको वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकिएका कारण सरकारबाट स्वीकृति पाउनसाथ शेयर निष्काशनको प्रक्रिया अगाडि बढाउन सकिने बताए। शेयर निष्काशनबाट सङ्कलन गरिएको रकमलाई ठूला जलविद्युत आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएको पनि घिसिङले बताए।
प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताले निर्माण गर्ने जलविद्युत आयोजनासँग झण्डै ११ हजार मेगावाटको दीर्घकालीन विद्युत खरीद सम्झौता (पीपीए) गरेको छ। रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ।आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेकोमा २०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफा कमाउन थालेको हो। गत आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो।




.gif)





