काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको तथा चीनका सामान आफ्नो देशमा प्रवेश (आयात) गर्दा लाग्ने शुल्क बढाउने घोषणा गरेसँगै युरोप र एशियाका सेयर बजारहरू ओरालो लागेका छन्।
ट्रम्पले युरोपेली सघं (ईयू)को हकमा समेत ‘निश्चित रूपमा’ शुल्क बढाइने बताएका छन्। यसपछि जर्मन र फ्रेन्च सेयर बजारहरु करिब दुई प्रतिशतका दरले तल झरेका छन्, जहाँ कार उत्पादक कम्पनीहरूको सेयर मूल्यमा नराम्रो असर परेको छ।
लन्डनको एफटीएसई १०० (फाइनान्सियल टाइम्स स्टक एक्सचेञ्ज अर्थात् लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत भएका सबैभन्दा ठूला १०० कम्पनीको सूचक) चाहिँ एक प्रतिशत भन्दा बढीले ओरालो लागेको छ।
बलियो डलर
मुद्रा बजारहरूमा अमेरिकी डलर बलियो भएर आएको छ, जसको मूल्य चिनियाँ युआन विरुद्ध कीर्तिमान स्तरमा उच्च देखिएको छ। अर्कोतर्फ क्यानडेली डलरको मूल्य सन् २००३ यताकै न्यून बिन्दुमा झरेको छ।
यी घटनाहरुले निकट भविष्यमा लगानीकर्ताहरूका लागि एउटा अस्तव्यस्त समय आउने देखिएको छ । साथै ठूला कम्पनीको आम्दानी प्रभावित हुन सक्ने र विश्वव्यापी आर्थिक वृद्धि घट्न सक्ने ठानिएको छ।
नयाँ कर लागू भएपछि क्यानडा र मेक्सिकोले अमेरिका निर्यात गर्ने सामानहरूमा २५ प्रतिशत शुल्क तिर्नुपर्ने अवस्था छ। विद्यमान शुल्कहरूका साथै चीनमा उत्पादित सामानहरूमा थप १० प्रतिशत लेभी लाग्ने भएको छ।
क्यानडा र मेक्सिकोले जवाफ स्वरूप आफूहरूले पनि अमेरिकी वस्तुहरूमा शुल्क लगाउने बताएका छन्। चीनले ‘जवाफी कदमहरू’ चाल्ने वाचा गर्दै ट्रम्पका कदमहरूलाई विश्व व्यापार सङ्गठन डब्ल्यूटीओमा चुनौती दिने बताएको छ।
ट्रम्पले चाहीँ अवैध औषधिहरू तथा आप्रवासीहरूको प्रवाह रोक्नका निम्ति शुल्क लगाउन आवश्यक रहेको तर्क गरेका छन्।
आइतवार राति उनले ईयूमाथि ‘निश्चित रूपमा’ शुल्कहरू लगाइने बताए। यद्यपि यूके ‘त्यस भन्दा बाहिर रहेको’ र एउटा समझदारी हुन सक्ने उनले उल्लेख गरे।
लगानीकर्तामा त्रास
बजार विश्लेषकहरुका अनुसार ‘पूर्ण स्तरको व्यापार युद्ध’ हुने सम्भावनाका कारण सर्वत्र लगानीकर्ताहरू त्रसित देखिएका छन् । कार निर्माता कम्पनीहरूको सेयरमा सबैभन्दा ठूलो गिरावट आएको छ। किनकि, थपिएको शुल्कबाट सबैभन्दा बढी जोखिममा पर्ने क्षेत्रको रूपमा त्यसलाई हेरिएको छ।
जापानमा टोयोटाको सेयर मूल्यमा ५ प्रतिशतले र होन्डाको मूल्यमा ७.२ प्रतिशतले घटेका छन्। युरोपमा स्टेलान्टिसको सेयर मूल्य ७ प्रतिशतले घटेको छ भने फक्सवागनको मूल्य ६ प्रतिशतले ओरालो लागेको छ।
मेक्सिकोबाट अमेरिकामा टकीला निर्यात गर्ने पेय पदार्थ उत्पादक डिआजिओको सेयर कारोबार ३ प्रतिशतले घटेको छ।
शुल्क वृद्धिले उच्च महँगी निम्त्याउन सक्छ र तत्कालका लागि थप ब्याजदर कटौतीलाई रोक्न सक्छ भन्ने अनुमान विश्लेषकले गरिरहेका छन् । त्यो भनेको लगानीकर्ताहरूले चाहेको भन्दा ठीक विपरीत अवस्था हो ।
मङ्गलवार रातिबाट क्यानडा र मेक्सिकोको हकमा शुल्क लागु हुने बताइएका बेला ट्रम्पले ती देशका नेताहरू सँग सोमवार राति कुराकानी गर्ने बताएका छन्।बीबीसी नेपाली सेवाबाट साभार ।




.gif)





