images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • खाद्य कम्पनीले गर्‍यो बाँकेमा ३२ हजार...

खाद्य कम्पनीले गर्‍यो बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

खाद्य कम्पनीले गर्‍यो बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • खजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानहरुसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । खाद्यले दुई महिनाको अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो ।गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ क्विन्टल धान खरिद गरिसकेको जनाएको हो । अब यस वर्ष बाँकेमा धान खरिद कार्य लगभग अन्त भएको कार्यालयले जनाएको छ ।

    images
    images

    “यस वर्ष हामीले गत कात्तिक २० गतेदेखि किसानसँग धान खरिद कार्य सुरु गरेका थियौँ, पुस १९ गतेसम्म आउँदा दुई महिनाको अवधिमा ३२ हजार २६ दशमलब ०८ क्विन्टल धान खरिद गरिसकेका छौँ ।” खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले भन्नुभयो, “पुस १९ गतेपछि किसानहरु आउन छोड्नुभएको छ, धेरै किसानहरुले धान बिक्री गरिसक्नुभयो, अब यस वर्षको धान खरिद लगभग यति नै होला ।”

    पुस १९ गतेपछि किसानहरु आउन छाडेको, फोन पनि नगरेको तथा सम्पर्कमा नआएका कारण यस वर्ष बाँकेमा धान खरिद कार्य लगभग सकिएको उहाँले बताउनुभयो । “हामीले लक्ष्य लिए अनुसार मोटा धानको कोटा पूरा गर्न सकेनौँ, मध्यम धानको भने कोटा लगभग पूरा भयो, हामीले माग गरे अनुसार र सोचे अनुसार मोटा धान आएन तर मध्यम धान भने माग अनुसार आयो र हामीले खरिद गर्याैँ,” मुख्य शाखा प्रमुख लामिछानेले भन्नुभयो ।

    images
    images

    बाँकेका किसानहरु पछिल्लो समयमा मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । “२५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेको मध्यम धान हालसम्म लगभग खरिद गरिसकेका छौँ, यस वर्षका लागि मध्यम धान खरिद लक्ष्य पुरा भएको छ ।” लामिछानेले भन्नुभयो, “मोटा धानको खरिद भने लक्ष्य अनुसार पुग्न सकिएन, किसानले बजारका व्यापारीलाई नै मोटा धान बिक्री गरे, चिउरा उत्पादन प्रयोजनका लागि बजारका व्यापारीले हाम्रो भन्दा केही बढी मूल्य दिएर किसानसँग मोटा धान खरिद गरेको हुँदा पनि हामीसम्म माग अनुसारको मोटा धान आइपुगेन ।”

    गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले यस वर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतीमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको थियो । ३० हजार क्विन्टल मोटा धान र २५ हजार क्विन्टल मध्यम गरी ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको खाद्यले यस वर्ष ७६५३.४४ क्विन्टल मोटा र २४३७२.६४ क्विन्टल मध्यम गरी जम्मा ३२०२६.०८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताउनुभयो । मोटा धानको तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम् समर्थन मुल्यमा किसानसँग धान खरिद गरिएको घिमिरेले बताउनुभयो ।

    उहाँका अनुसार यस वर्ष मोटा धान दुई करोड ६१ लाख दुई हजार १३३ रुपियाँ ६५ पैसा र मध्यम धान आठ करोड ७२ लाख ६९ हजार, १६२ रुपियाँ २३ पैसा गरी कुल ११ करोड ३३ हजार ७१ लाख २९५ रुपियाँ ८८ पैसाको धान खरिद गरिएको हो । धान बिक्रीका लागि जिल्लाका ६७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएपनि ५६८ जना किसान र पाँच वटा सहकारी संस्थामार्फत् बिक्री गर्न ल्याइएको धान खरिद गरिएको कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend