images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • दैनिक आठ सय मेगावाट विद्युत् भारतीय...

दैनिक आठ सय मेगावाट विद्युत् भारतीय बजारमा निर्यात

दैनिक आठ सय मेगावाट विद्युत् भारतीय बजारमा निर्यात

images
images
अर्थ समाचार
आइतवार, आषाढ ३० २०८१
अर्थ समाचार
आइतवार, आषाढ ३० २०८१
  •  भारतीय बजारमा दैनिक आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । प्रिमनसुन सुरु भएसँगै प्राधिकरणले गत १४ जेठबाट भारतमा यस सिजनको विद्युत् निर्यात सुरु गरेको थियो । त्यसवेला चार सय मेगावाटसम्म विद्युत् निर्यात भएको थियो । तर, बीचमा गर्मी अत्यधिक हुँदा स्वदेशी माग बढ्न गई विद्युत् निर्यात रोकिएको थियो ।

    images
    images

    पछिल्लो समयमा भएको वर्षाले खोलाहरूमा पानीको बहाव बढेको छ । गत हप्ता बाढीका कारण बन्द गरिएका अधिकांश जलविद्युत् परियोजना सञ्चालनमा आइसकेका छन् । अधिकांश जलविद्युत् परियोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन हुन थालेपछि स्वदेशमा खपत भएर बढी भएको बिजुली भारतमा निर्यात गर्न थालिएको छ । गत आइतबारयता भारतमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात हुन थालेको छ । शुक्रबार अर्थात् २९ असारमा भने अधिकतम ८१२ मेगावाट विद्युत् भारतमा निर्यात भएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ ।

    यसअघि गत ६ कात्तिकमा भारतमा ७३२ मेगावाट विद्युत् निर्यात भएको थियो । यस वर्ष उक्त रेकर्ड तोडिएको हो । गत वर्ष २९ असारमा ३७५ मेगावाट विद्युत् निर्यात भएको थियो ।

    images
    images

    गत २३ असारमा ७७८ मेगावाट, २४ असारमा ७४८ मेगावाट, २५ असारमा ७६९ मेगावाट, २६ असारमा ७८९ मेगावाट, २७ असारमा ७८९ मेगावाट र २८ असारमा ८१२ मेगावाटसम्म विद्युत् निर्यात भएको छ । आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भएको यो पहिलोपटक हो ।

    भारतले आफ्नो बजारमा सात सय मेगावाटहारहारीमा विद्युत् निर्यात गर्न मिल्ने गरी परियोजना स्वीकृत गरेको छ । स्वीकृत सीमाभन्दा ५० प्रतिशतभन्दा विद्युत् बिक्री गर्न पाइने व्यवस्था छ । सोहीअनुसार विद्युत् निर्यात भइरहेको प्राधिकरणको भनाइ छ ।

    अहिले दैनिक सात–आठ सय मेगावाटभन्दा बढी बिजुली भारत निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार अहिले दैनिक रूपमा भइरहेको विद्युत् निर्यात हालसम्मकै उच्च छ । ‘गत वर्ष साढे ६ सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सकेका थियौँ । अहिले सात–आठ सय मेगावाटभन्दा बढी बिजुली भारतमा निर्यात भइरहेको छ ।

    उनका अनुसार ११० मेगावाट मध्यकालीन सम्झौताअनुसार भारतको हरियाणा प्रदेशमा निर्यात भइरहेको छ । प्राधिकरणले प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ)मा पाँच वर्षसम्म बर्खायाममा मात्रै दुई सय मेगावाट विद्युत् बिक्री गर्ने गरी भारतको एनटिपिसी विद्युत् व्यापार निगमन (एनभिभिएन)सँग मध्यकालीन सम्झौता गरेको थियो । त्यसमा भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म ११० मेगावाट विद्युत् बिक्री गर्न मिल्ने गरी परियोजना स्वीकृत गरेको छ । सोहीअनुसार मध्यकालीन बजारमा ११० मेगावाट विद्युत् निर्यात भइरहेको छ । बाँकी ९० मेगावाट विद्युत् बिक्रीका लागि परियोजना स्वीकृत हुने चरणमा रहेको प्राधिकरणको भनाइ छ ।

    प्राधिकरणले गत वर्षको बर्खा सिजन (जेठदेखि मंसिरसम्म)मा १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको थियो । गत हिउँद (मंसिर–जेठसम्म) भने झन्डै १४ अर्बबराबरको विद्युत् आयात गरिएको थियो । प्राधिकरणले कात्तिक ०७८ यता भारतमा व्यावसायिक रूपमा विद्युत् आयात–निर्यात गर्दै आएको छ । त्यसभन्दा पहिला इनर्जी बैंकिङ (ऐँचो–पैँचो)का रूपमा नेपाल र भारतबीच विद्युत् आयात–निर्यात हुने गर्थ्यो । स्वदेशी माग धान्न नेपालले सन् १९७१ देखि नै भारतबाट विद्युत् आयात गर्दै आएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend