images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दोसल्लेबाट रु १...

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दोसल्लेबाट रु १ करोड ५० लाख बढीको सुन्तला बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दोसल्लेबाट रु १ करोड ५० लाख बढीको सुन्तला बिक्री

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको  सुन्तला बिक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए। सुन्तला उत्पादन वृद्धि भए सँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए। 

    images
    images

    दोसल्लेमा विगत करिब १३ वर्ष देखि सुन्तला खेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थाले पछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेती विस्तारमा जुटेका छन् । सुन्तला खेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तला खेतीमा लागेका छन् । 

    समूहका अध्यक्ष समेत रहेका पाइजाले गत वर्ष गाउँबाट रु ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष रु एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिए । “यस वर्ष सुन्तलाको उत्पादन अति नै राम्रो छ, अधिकांश किसानको सुन्तला बोटबोटै बिक्री भएको छ, व्यवसायीले पेस्की रकम किसानलाई उपलब्ध गराइसकेका छन्”, पाइजाले भने । 

    images
    images

    दोसल्ले गाउँमा करिब १० हजार सुन्तलाका बोट छन् । दोसल्ले गाउँमा मात्रै होइन, जिल्ला भरमै सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन् । सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरुको भनाइ छ । 

    बेनी नगरपालिका–३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष रु एक करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष रु एक करोड ६० लाख बढी आम्दानी हुने अनुमान गरिएको बताए । “सुन्तला टिप्न व्यवसायी बगैँचामा आइ सकेका छन्, उत्पादन राम्रो छ, गत वर्षको तुलनामा दोब्बर जस्तै फल लागेको छ, उत्पादन भएको सुन्तलाको बजारको अभाव छैन”, उनले भने । 

    उनका अनुसार ६२ घरधुरीको बसोबास रहेको राखुका सबैले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । यहाँका अगुवा किसान रामबहादुर घर्तीले रु सात लाख ५० हजार, जीतबहादुर आलेले रु सात लाखमा आफ्नो बगैँचाको सुन्तला ठेक्कामा बिक्री गरिसकेका छन्। जिल्लाको राखु, मरेक, बास्कुना, सुर्केमेला, बरङ्गजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना, नारच्याङ लगायतका क्षेत्रमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । 

    बेनी –४ बास्कुना गाउँमा मात्रै यस वर्ष सुन्तला बिक्रीबाट रु एक करोड भित्रिएको छ । यहाँका १६ घरधुरीले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । अगुवा किसान  रहेका वडा सदस्य सन्दीप खत्रीले गत वर्ष बास्कुनाबाट रु ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन बढेको कारण किसानको आम्दानी बढेको बताए । 

    जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ लगायतका बजारमा निकासी हुने थालेको छ । गत वर्षको तुलनामा डेढ गुणाले सुन्तलाको उत्पादन बढेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

    जिल्लामा यस वर्ष सुन्तला उत्पादन बढेको र क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरी विवरण सङ्कलन भइरहेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए । म्याग्दीमा आठ सय १० हेक्टर जमिनमा  सुन्तलाखेती हुँदै आएकोमा चार सय २० हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । गत वर्ष जिल्लाबाट तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।रासस 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend