images

२०८३ आश्विन २६ गते

images
images
images

माछाका ‘भुरा’ उत्पादनभन्दा माग बढी

माछाका ‘भुरा’ उत्पादनभन्दा माग बढी

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • खजुरा । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको छ । तर पनि किसानले माग अनुसार भुरा पाउन सकेका छैनन् ।

    images
    images

    केन्द्रको कुल ३.५९ हेक्टर जमिनमध्ये जलाशय जमिन १.८२ हेक्टर छ । जलाशय जमिनमा भुरा उत्पादनका लागि साना ठूला गरेर २३ वटा पोखरी निर्माण गरिएका छन् । जसमध्ये रेयरिङ्ग पोखरी चार वटा, नर्सरी पोखरी १२ वटा, माउ पोखरी ६ वटा र खानेमाछा पोखरी एउटा छ ।

    “हामीले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्छौँ, हरेक वर्ष लक्ष्यभन्दा धेरै उत्पादन गरिरहेका छौँ, जति उत्पादन बढाएका छौँ, त्यो भन्दा कैयौँ गुणा धेरै माग हुने गरेको छ,” केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत सालिकराम चौधरीले भन्नुभयो, “हामीले उत्पादन गरेको भुराले किसानको मागको आधारमा २५ देखि ३० प्रतिशत मात्र धानेका छौँ, बाँकी उहाँहरुले नीजि नर्सरीबाट लैजाने गर्नुहुन्छ ।”

    images
    images

    सूचना अधिकारी चौधरीका अनुसार गत आर्थिक वर्ष २०८०-०८१ मा ‘ह्याचलिङ’ भुरा दुई करोड, ‘फ्राई’ भुरा १५ लाख, ‘फिङ्गरलिङ्ग’ भुरा १२ लाख र खानेमाछा (इएरलिङ्ग) तीन क्विन्टल उत्पादन गर्ने वार्षिक लक्ष्य राखिएको थियो । तर लक्ष्यभन्दा धेरै उत्पादन गरिएको चौधरीले बताउनुभयो ।

    “गतवर्ष हामीले लक्ष्य राखेको भन्दा धेरै भुरा उत्पादन गर्‍याैँ, ‘ह्याचलिङ्ग’ भुरा दुई करोड ३० लाख, ‘फ्राई’ भुरा २६ लाख ८४ हजार, ‘फिङ्गरलिङ्ग’ भुरा २३ लाख १७ हजार र खानेमाछा नौ क्विन्टल ८४ केजी उत्पादन भएको छ ।” चौधरीले भन्नुभयो, “माछाका भुरा र खानेमाछा बिक्रीबाट गत वर्ष ३३ लाख ८२ हजार ३९८ रुपियाँ राजस्व सङ्कलन भएको छ, हरेक वर्ष उत्पादन पनि बढिरहेको छ र राजस्वमा पनि वृद्धि हुँदै गएको छ ।”

    सूचना अधिकारी चौधरीका अनुसार अण्डाबाट निस्केको ५ देखि ७ दिनको भुरालाई ‘ह्याचलिङ्ग’, २५ देखि ३५ दिनसम्मलाई ‘फ्राई’, ३५ देखि ४५ दिनसम्मलाई ‘फिङ्गरलिङ्ग’ र ४५ देखि ६० दिनसम्मलाई ‘एड्भान्स फिङ्गरलिङ्ग’ र ६० दिनदेखि माथिलाई ‘इएरलिङ्ग’ भनिन्छ । 

    लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलाय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत रहेको उक्त केन्द्रले ग्रास कार्प, सिल्भर, विगहेड कार्प, भाकुर, रहु तथा नैनी, कमन कार्प प्रजातीका माछाका भुरा उत्पादन गर्दै आएको छ । “तराईको परिवेश अर्थात् न्यानो पानीमा हुर्कन सक्ने ‘कार्प’ प्रजातिका माछाका भुरा हामीले उत्पादन गरेर किसानलाई गुणस्तरीय भुरा उपलब्ध गराइरहेका छौँ,” चौधरीले भन्नुभयो ।

    आर्थिक वर्ष २०७९-०८० मा भन्दा गत आर्थिक वर्षमा कैयौँ गुणा बढी भुरा उत्पादन गरेको कार्यालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९-०८० मा ‘ह्याचलिङ्ग’ भुरा दुई करोड १९ लाख, ‘फ्राई’ भुरा २२ लाख ९८ हजार, ‘फिङ्गरलिङ्ग’ भुरा २० लाख चार हजार र खानेमाछा ६.३० क्विन्टल उत्पादन भएको थियो । उक्त आवमा माछाजन्य वस्तुको बिक्रीबाट २९ लाख ८२ हजार ६७१ रुपियाँ राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

    उत्पादन भएका भुरा बाँके, बर्दिया, दाङ, पूर्वीरुकुम, प्युठान, रोल्पा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाका किसानलाई उपलब्ध गराउँदै आएको केन्द्रले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend