काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन आजदेखि ६ स्थानबाट ग्यास बिक्री गरिने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार असोज २५ देखि ३१ गतेसम्म तोकिएका बिक्री केन्द्रबाट उपभोक्ताले विभिन्न ब्रान्डका ग्यास खरिद गर्न सक्नेछन्।संघका अध्यक्ष दिवान चन्दले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल आयल निगमको समन्वय तथा ग्यास बिक्रेता महासंघको सहकार्यमा ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो। ग्यासको आपूर्ति सहज बनाउने र उपभोक्तालाई सिलिन्डर उपलब्ध गराउने उद्देश्यले बिक्री केन्द्र तोकिएको संघले जनाएको छ।
संघका अनुसार काठमाडौँको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास बिक्री हुनेछ। पेप्सीकोलाबाट सगर ग्यास उपलब्ध हुनेछ भने बालाजु औद्योगिक क्षेत्रको गेट अगाडिबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ब्रान्डका ग्यास बिक्री गरिनेछ।त्यसैगरी सुकेधाराबाट बाबा र श्री ग्यास, कलंकीबाट साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री गर्ने व्यवस्था गरिएको छ।यी सबै बिक्री केन्द्रबाट बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म ग्यास खरिद गर्न सकिनेछ। अध्यक्ष चन्दका अनुसार बिक्री केन्द्रमा खाली सिलिन्डर साटफेर गर्ने सुविधा पनि उपलब्ध हुनेछ।




.gif)



