images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • हाटबजारमा चार हजार दुई सय किलो...

हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री

हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री

images
images
शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • काठमाडौं, १५ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ का कृषकले मास बिक्री गरी एकैदिन रु आठ लाख ४० हजार आम्दानी गरेका छन् । उक्त वडाका खेउसिङ, भकुण्डी, मजुवा, डोडेका कृषकले उत्पादन गरेको मास शुक्रबार बिक्री गरेका थिए ।

    images
    images

    आँबुखैरेनी ३ मा सञ्चालन गरेको हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनका अनुसार उक्त मास प्रति किलो रु दुई सयमा बिक्री गरेका छन् । हाटबजारमा २९ जना कृषकले मास बिक्री गरेका छन् ।

    उनले भने, “त्यस वडाका कृषकहरू व्यावसायिक मास उत्पादनमा लागेका छन् । मासले बजार पाउँदा कृषक खुसी छन् ।” गाउँपालिकाले हाटबजारसम्म मास ढुवानीका लागि सवारी साधनको व्यवस्थापन गरिदिएको थियो । त्यस्तै मास उत्पादन गर्ने कृषकलाई प्रति किलो रु २५ अनुदान दिने व्यवस्था मिलाइएको प्रमुख केसीले बताए ।

    images
    images

    हाटबजारमा मास बिक्री गरेर एउटा कृषकले बढीमा ६० हजार सम्म आम्दानी गरेका छन् । खेउसिङका कृषक चन्द्रबहादुर भुजेलले आफूहरूले उत्पादन गरेको मासले बजार पाउँदा यस खेती तर्फ लाग्न हौसला मिलेको बताए । उनले भने, “मासको ढुवानी पनि गाउँपालिकाले नै गरिदिएको छ । उत्पादनका आधारमा अनुदानको व्यवस्था पनि मिलाउँदा कृषकलाई सहज भएको छ ।”

    भकुण्डीका ईश्वर गुरुङ, खेउसिङका ईश्वर गुरुङ, मजुवाका मनबहादुर भुजेलले व्यावसायिक रूपमा मास खेती गरिरहेका छन् । आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले गाउँ–गाउँ पुगेर मास सङ्कलन गरी हाटबजार सम्म ल्याउन वडाले सहजीकरण गरेको जानकारी दिए ।

    गाउँपालिकाले विगत एक वर्ष देखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषि उपज बिक्री वितरणका लागि प्रभावकारी थलोको रूपमा विकास भएको छ ।

    हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका कृषि उपज वस्तु बिक्री वितरणका ल्याउँछन् । उपभोक्ता पनि कहिले शुक्रबार आउँछ र ताजा कृषि उपज सामग्री आउँछ भनेर कुर्छन् ।

    हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

    गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानका अुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend