images

२०८३ आश्विन २२ गते

images
images
images

वैदेशिक रोजगारी छाडेर गाउँमै च्याउ खेती

वैदेशिक रोजगारी छाडेर गाउँमै च्याउ खेती

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउ खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । 

    images
    images

    सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन बिताएर स्वदेश फर्किएपछि आफूहरूले व्यावसायिक च्याउ खेती सुरु गरेको रोशन गुप्ताले बताए । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए । उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख रुपैयाँ सजिलै बचत हुने गरेको छ । हाल उनीहरूले पाँच वटा टनेलमा च्याउ खेती गरेका छन् । च्याउ बजारमा थोकमा प्रतिकेजी एक सय ७० रुपैयाँ र फर्ममै किन्न आउने व्यापारीलाई एक सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए । 

    रोशनले भने, ‘च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ ।’ तत्कालीन समयमा ५० हजार रुपैयाँ लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ । 

    images
    images

    मासिक तलबमा काम गर्नेले मासिक १५ हजार रुपैयाँ र दैनिक ज्याला दारीमा काम गर्नेले पाँच सय रुपैयाँमा काम गरिरहेका छन् । ‘व्यापार भएकाले सधैं एकनास हुँदैन, कम जग्गामा पनि च्याउ खेती गर्न सकिन्छ,’ उनले भने, ‘च्याउ खेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।’च्याउ खेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताए । उनका अनुसार हाल दैनिक तीन सय ५० केजीसम्म च्याउ बिक्री भइरहेको छ । 

    साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उनको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उनको भनाइ छ । ‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न’, रोशनले भने । उनले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख रुपैयाँ अनुदान पाउनु भएको थियो भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले ९० हजार रुपैयाँ अनुदान दिएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend