images

२०८३ आश्विन २२ गते

images
images
images

सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौँ - गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उहाँको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् ।

    images
    images

    बाँकी छ सय बिरुवाले अर्को वर्षबाट क्रशमः उत्पादन दिनेछन् । गतवर्ष उनले २६ टन सुन्तलाबाट रु १३ लाख आम्दानी गरेका थिए । गतवर्ष उहाँले साना–ठूला गरी सबै दाना बगैँचाबाट नै प्रतिकेजी ५० मा बिक्री गरे। यस वर्ष सुन्तलाको उत्पादन राम्रो भएकोले गत वर्षभन्दा बढी आम्दानी हुने उनले बताए। यस वर्ष पनि उनी सुन्तला बिक्री गर्ने तयारीमा छन् ।

    पेसाले शिक्षक रहेका खनालले सुन्तलाको बिरुवाको लागि आफ्नै बारीमा नर्सरीको स्थापना गरेका थिए । गतवर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा उनले सिँचाइको लागि पोखरीसमेत निर्माण गरेका छन् । ‘सानैदेखि व्यावसायिक बन्ने सोच थियो ।’ उनले भने, “दिउँसोमा विद्यालय भए पनि बिदा र बिहान–बेलुकाको समय सुन्तला खेतीमा लगाउँछु ।”

    images
    images

    उनको फर्मबाट परिवारका सदस्यबाट हुने श्रम बाहेक वार्षिक तीन सय दिन रोजगारी समेत सिर्जना हुने गर्दछ । पिपलधाराका वडाध्यक्ष बाबुराम खड्का पनि सुन्तला किसान हुन्। उनले यस वर्ष मात्रै एक हजार सुन्तलाका बिरुवा लगाएका थिए । केही वर्ष पहिले आठसय बिरुवा लगाएका थिए । उनको पनि पुख्र्यौली पेसा सुन्तला खेती भएकोले अहिले तीन सय ५० बोटले उत्पादन दिइरहेका छन् । 

    ४० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका उनले सुन्तला रेखदेखको लागि एकजनालाई रोजगारी समेत दिए । सुन्तला राम्रो उत्पादन हुँदा प्रतिबोट चार सय दानासम्म उत्पादन हुने उनले बताए । ‘लगाएका सबै बिरुवा फल्दा १८ हजार क्वीन्टल सुन्तला उत्पादन हुन्छ ।’ उनले भने, “यसबाट अहिलेको बजार मूल्यअनुसार ६० लाखको आम्दानी हुन्छ ।” यसमा खर्च २० लाख कटाउँदा पनि बाँकी ४० लाख नाफा हुने वडाध्यक्ष खड्काले बताए । 

    राजनीति गरेर मात्रै जीवन नचल्ने भएकोले आफूले पुख्र्यौली पेसालाई व्यावसायिकरण गरेको बताए । ‘राजनीतिक नेताहरुको व्यवसाय नहुँदा नागरिकले शङ्का गर्छन् ।” उनले भने, “कृषिसँगै जनसेवा गर्ने चाहाना छ ।” स्थानीय केशव खनालको बगैँचामा पनि अहिले एक हजार सुन्तलाका बोट छन् । 

    विगतदेखि नै सुन्तलाखेती गर्दै आएका केशव अहिले थप व्यावसायिक बनेका छन्  । गत वर्ष मात्रै उनले ९० क्वीन्टल सुन्तला बिक्रीबाट छ लाख आम्दानी गरेका थिए । गतवर्ष उनको बगैँचाबाट प्रति केजी रु ५५मा सुन्तला बिक्री भएको थियो । अहिले पनि उनको बारीमा दुई सय बिरुवाले फल दिइरहेका छन् । बाँकी आठ सय बिरुवा कलमे र नयाँ लगाएकाले केही वर्षमा फल दिनेछन् । उनले चक्लाबन्दी गरेर पनि सुन्तलाका बिरुवा लगाएका छन् । 

    निकट भविष्यमा उनीसँग भएका सबै बिरुवा फल्दा डेढसय क्वीन्टलभन्दा बढी सुन्तला फल्छन् । यसबाट उनको आम्दानीमा पनि उल्लेख्य वृद्धि हुनेछ । ‘बजार मूल्यभन्दा कम मूल्य पाउछौँ ।’उनले भने, “बगैँचाबाटै सुन्तला बिक्री हुन्छ ।”  

    चार करोडको सुन्तला निर्यात

    पिपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध छन् । पिपलधारामा कूल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट एरियाको रुपमा निर्धारण गरिएको छ । 

    उक्त जग्गालाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने योजना वडाको छ । सुन्तला लिनको व्यापारी बगैँचामै आउने गर्दछन् । पिपलधाराको सुन्तला स्थानीय बजार हुँदै तम्घास, अर्घाखाँची, पाल्पा, बुटबललगायतका स्थानमा पुग्ने गर्दछन् । यो वर्ष पनि केही दिनभित्रै सुन्तला निर्यात गर्ने तयारी भइरहेको वडाध्यक्ष खड्काले बताए । ‘सुन्तलाको बजारीकरणको लागि कुनै समस्या छैन ।’ वडाध्यक्ष खड्काले भने, “पिपलधाराको पहिचान नै सुन्तलाबाट बनेको छ ।” गतवर्ष मात्रै पिपलधाराबाट चार करोडको सुन्तला निर्यात भएकोमा यो वर्ष चार करोड ५० लाखभन्दा बढीको सुन्तला निर्यात हुने वडाध्यक्ष खड्काले बताए । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend