images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • टी इस्टेटले ओगटेको झापाको जग्गा ३३...

टी इस्टेटले ओगटेको झापाको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

टी इस्टेटले ओगटेको झापाको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • झापा ।  मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काएको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले नगर प्रहरी, उपप्रमुख, वडाध्यक्षहरु सहित जग्गा रहेको चिया बगानमा पुगेर आज देखि उक्त जग्गा सरकारको स्वामित्व र नगरपालिकाको संरक्षणमा रहने घोषणा गरे ।

    images
    images

    नगरप्रमुख सँगै गएका नगर प्रहरीले उक्त सरकारी जग्गाको क्षेत्रफल अङ्कित साइनबोर्ड राखेका छन् । नगरप्रमुख बुढाथोकीले सरकारको नाममा कायम भइसकेको जग्गा चिया बगानले भोगचलन गरिरहेको हुँदा अब उप्रान्त नगरपालिकाले यसको संरक्षण र उपयोग गर्ने सन्देश सार्वजनिक गर्न साइनबोर्ड राखिएको बताए ।

    भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अनुसार हाल चिया बगान रहेको उक्त जग्गा २०४८ असोज २५ गते उद्योगी दिनेशप्रसाद कानुले आफ्नो नाममा दर्ता गरेका थिए । ऐलानी पर्ती रहेको जग्गालाई कानुले छुट दर्ताको पर्चा खडा गरेर आफ्नो नाममा दर्ता गरेको र आफ्नै स्वामित्वको नकलबन्दा टी इस्टेटलाई २०५५ असोज ११ गते बिक्री गरेका थिए । सरकारी जग्गालाई निजी बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ मङ्सिर २२ गते नकलबन्दा टी इस्टेटको नाममा रहेको जग्गा बदर गरी सरकारको कायम गर्ने निर्णय गरेको थियो ।

    images
    images

    सरकारको स्वामित्व कायम गर्ने अख्तियारको निर्णय आइसके पछि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले २०६६ पुस ६ गते सरकारी रेकर्डबाट नकलबन्दाको लगत कट्टा गरी सरकारको नाम समावेश गरेको नगरप्रमुख बुढाथोकीले जानकारी दिनुभयो । चिया बगानले हडपेको ३३ वर्षपछि र सरकारको लगत कायम भएको १५ वर्षपछि मेचीनगर नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाएको हो । 

    नगरपालिकाको संरक्षणमा आएको जग्गामा चियाका बोट र ठूला रुखहरु छन् । लगाइएको बाली उठाएर जग्गा खाली गरिदिन मेचीनगर नगरपालिकाले नकलबन्दा टी इस्टेटलाई दुईपटक पत्राचार गरेको जनाएको छ ।

    “अब यो जग्गा नगरपालिकाको संरक्षणमा आएको छ,” नगप्रमुख बुढाथोकीले भने–“सरकारले सँधैभर उहाँहरु (चिया बगान सञ्चालक) लाई भोग गर्न दिइरहने कुरा आउँदैन । जग्गाको बहुउपयोग कसरी गर्न सकिन्छ भनेर कार्यपालिकामा छलफल र निर्णय गरेर अघि बढ्नेछौँ ।”

    नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाए पनि अहिले सम्म जग्गाको सिमाना यकिन भइसकेको छैन । साविक नकलबन्दाको वडा नं. ७ का कित्ता नम्बरहरु ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७, ३७८, ३७९, ३८०, ३८१, ३८२, ३८३, ३८४, ३८५, ३८६, ३८७, ३८९, ३९०, २३१ र २३२ को जग्गा नकलबन्दा टी इस्टेटबाट सरकारको नाममा आएको हो ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend