काठमाडौँ, २२ कात्तिक । तिहार नजिकिएसँगै बजारमा सयपत्री तथा अन्य मौसमी फूलको माग बढेको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन र प्लास्टिकजन्य फूलमालाको प्रयोग निरुत्साहित गर्ने अभियानसँगै देशका विभिन्न जिल्लामा व्यावसायिक पुष्पखेती गर्ने किसानलाई फूल बिक्री गर्न भ्याइनभ्याइ भएको छ।
तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले स्थानीयस्तरमा उत्पादित सयपत्री फूलको बिक्री वितरण व्यवस्थित गर्न १७ वटा बिक्री केन्द्र तोकेको छ। महानगरपालिकाले कात्तिक २२ गतेदेखि लागू हुने गरी सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ र प्रतिमाला २०० रुपैयाँ निर्धारण गरेको छ।
स्थानीय किसानले उत्पादन गरेका फूललाई सहज रूपमा बजारसम्म पुर्याउने र उपभोक्तालाई व्यवस्थित रूपमा फूल उपलब्ध गराउने उद्देश्यले बिक्री केन्द्र तोकिएको महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए। उनका अनुसार तिहारमा फूलमालाको माग उच्च हुने भएकाले स्थानीय किसानको उत्पादनले बजार पाओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
महानगरपालिकाले पोखरा–१ को देवी पञ्चाङ ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडिखेलस्थित पुरानो वडा कार्यालय, पोखरा–२ को संगमचोक कृषि बजार चौतारी, पोखरा–५ को नयाँ वडा कार्यालय परिसर र पोखरा–६ को सुलभ उपभोक्ता सहकारी संस्थामा बिक्री केन्द्र राखेको छ।
त्यसैगरी महेन्द्रपुल, पोखरा कोसेली घर पृथ्वीचोक, सिद्धार्थचोक, पोखरा रंगशाला, किसान बजार–१३, वडा कार्यालय परिसर–१४, किसान बजार–१५, ठूलीपोखरी किसान बजार–१६ र १९, किसान बजार विरौटा–१७, किसान बजार खुदी–३०, बेगनास तालस्थित कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था र कृषि उपज थोक बजार तालचोक–२७ मा पनि फूल खरिदबिक्री गर्न सकिने व्यवस्था मिलाइएको छ।
महानगरपालिकाले स्थानीय फूलको बजार विस्तारसँगै प्लास्टिकजन्य फूलमाला तथा फूलगुच्छाको बिक्री, वितरण, भण्डारण र प्रयोग नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ। वातावरण संरक्षण ऐन, २०७६ अनुसार प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरण तथा भण्डारण निषेध गरिएको व्यवस्था कार्यान्वयन गर्न बजार अनुगमनसमेत तीव्र पारिएको छ।
शुक्रबार पोखरा महानगरपालिका–१ र २ का बिन्ध्यवासिनी तथा बगर क्षेत्रमा रहेका नौवटा पूजासामग्री र झिलिंगा पसलमा अनुगमन गर्दा ६ हजार २८० रुपैयाँबराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सजावटका सामग्री नष्ट गरिएको महानगरपालिकाले जनाएको छ। अनुगमनका क्रममा लेबल उल्लेख नगरिएका भाइमसला तथा रङ प्रयोग गरिएका झिलिंगासमेत बिक्रीका लागि राखिएको पाइएको थियो।
महानगरपालिकाकी उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको थियो। महानगरले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूलमालाको प्रयोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि ‘स्थानीय फूल प्रयोग गरौँ, पर्यावरण बचाऔँ, स्थानीय उत्पादन प्रोत्साहन गरौँ’ भन्ने सन्देशसहित अभियानलाई निरन्तरता दिएको छ।
रोल्पामा किसानलाई फूल टिप्न र बजार पुर्याउन चटारो
यता, रोल्पामा पनि तिहार नजिकिएसँगै पुष्प व्यवसायीलाई फूल टिप्न र बजार पुर्याउन भ्याइनभ्याइ भएको छ। सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँका मधु केसी यतिबेला आफ्नो फूलबारीमा व्यस्त छन्। विगत ६ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आएका उनले करिब दुई रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका फूल उत्पादन गरेका छन्।
उनको बगैँचामा म्यारिगोल्ड र कर्मा फ्रिड जातका सयपत्री फूल ढकमक्क फुलेका छन्। अहिले बगैँचामा करिब दुई क्विन्टल फूल रहेको र काठमाडौंलगायत विभिन्न ठाउँबाट माग आएको केसीले बताए।
‘अहिले बगैँचामा करिब दुई क्विन्टल फूल छन्। फूल खरिदका लागि काठमाडौंबाट समेत माग आएको छ,’ उनले भने।
केसीका अनुसार फूल प्रतिकेजी ५०० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ। स्थानीय तहले कृत्रिम फूलमालाको प्रयोगमा प्रतिबन्ध लगाए पनि बाहिरी जिल्लाबाट सस्तो मूल्यमा फूलमाला भित्रिँदा स्थानीय किसानलाई प्रतिस्पर्धा गर्न कठिन भइरहेको उनको अनुभव छ।
अघिल्ला वर्षमा फूल बिक्रीबाट वार्षिक दुई लाख रुपैयाँसम्म आम्दानी गरेका केसीले यस वर्ष पनि राम्रो कारोबार हुने अपेक्षा गरेका छन्।
करिब नौ वर्ष थाइल्यान्डमा वैदेशिक रोजगारीमा बिताएका केसी स्वदेश फर्किएपछि गाउँमै सम्भावना खोजिरहेका छन्। पुष्पखेतीसँगै व्यावसायिक कुखुरापालन, स्केटपार्क सञ्चालन र निजी विद्यालयसमेत सञ्चालन गर्दै आएका उनी गाउँमै मेहनत गरे राम्रो आम्दानी गर्न सकिने बताउँछन्।
उनले युवालाई स्वदेशमै व्यावसायिक उत्पादनमा लाग्न प्रोत्साहन गर्न सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए। केसीले उत्पादन गरेको फूल रोल्पा र प्यूठानका बजारसँगै अन्य जिल्लामा पनि पुग्ने गरेको छ।
सिरहाका किसान महतोको फूलखेतीबाट वार्षिक २५ लाख आम्दानी
सिरहाको लहान नगरपालिका–३ का शिवजी महतो व्यावसायिक फूलखेतीबाट वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। कुनै समय रोजगारीको खोजीमा भारतका विभिन्न सहर भौँतारिएका महतो अहिले आफ्नै गाउँमा फूलखेती गरेर उदाहरणीय बनेका छन्।
करिब १२ वर्षअघि दुई कठ्ठा जग्गाबाट फूलखेती सुरु गरेका उनले अहिले खेती विस्तार गरेर दुई बिघा क्षेत्रफलमा पुर्याएका छन्। मुख्यगरी तिहार र छठलाई लक्षित गरी सयपत्री, मखमलीलगायत मौसमी फूल उत्पादन गर्दै आएका उनले १० जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएका छन्।
महतोका अनुसार यस वर्ष तिहार र छठमा १५ लाख रुपैयाँबराबरको फूल बिक्री गर्ने लक्ष्य छ। पूर्वमा झापादेखि पश्चिममा दाङको तुलसीपुरसम्म उनको उत्पादनको माग पुग्ने गरेको छ।
‘विदेशमा जति पसिना बगाइन्छ, त्यति पसिना आफ्नै गाउँठाउँमा बगाए सुन फलाउन सकिन्छ,’ महतो भन्छन्।
व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले खेतीको क्षेत्रफल अझै विस्तार गर्ने योजना बनाएका छन्। स्थानीय बजारमा फूलको माग बढ्दै गएपछि अन्य किसानसमेत पुष्पखेतीतर्फ आकर्षित हुन थालेका छन्।
पोखरामा बिक्री केन्द्र व्यवस्थापन, रोल्पामा स्थानीय किसानको उत्पादन र सिरहामा व्यावसायिक खेतीको विस्तारले तिहारमा स्वदेशी फूलको बजार विस्तार हुँदै गएको देखाउँछ। स्थानीय उत्पादनको प्रवर्द्धन, प्लास्टिकजन्य फूलमालाको विस्थापन र किसानलाई बजारको सुनिश्चितता गर्न सके पुष्पखेती ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ।




.gif)





.gif)
