images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको...

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

images
images
आइतवार, कार्तिक २२ २०८३
आइतवार, कार्तिक २२ २०८३
  • कास्की, २२ कात्तिक । पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ । सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा त्यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन अभियानलाई तीव्रता दिएको हो ।

    images
    images

    महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरपालिका–१ र २ का विन्ध्यवासिनी तथा बगर क्षेत्रमा रहेका नौ वटा पूजा सामग्री र झिलिङ्गा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रु छ हजार २८० बराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सजावटका सामग्री नष्ट गरिएको छ ।

    “अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नगरिएका भाइमसला तथा रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको पाइएपछि प्रतिबन्धित सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ”, प्रमुख कडरियाको भनाइ छ । महानगरले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूलमालाको बिक्रीवितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि औपचारिक सूचना जारी गरी त्यस्ता सामग्री बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको थियो ।

    images
    images

    महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्ड पालना गर्न, वस्तुको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न तथा म्याद नाघेका सामग्री बिक्री नगर्न सचेत गराइएको थियो ।

    उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाले वातावरण प्रदूषण बढाउने भएकाले यसको प्रयोग र बिक्रीवितरण निरुत्साहित गर्न आवश्यक रहेको बताए । तिहारमा यस्ता सामग्रीको बिक्री बढ्नसक्ने भएकाले अनुगमनलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

    “कृत्रिम फूलमालाको विकल्पमा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूलमालाको प्रयोगलाई प्रोत्साहन गरेका छौँ । फूलखेती गर्ने कृषकलाई महानगरले अनुदान लगायत सहयोग गरिरहेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न व्यवसायी र उपभोक्तालाई आग्रह गर्दै आएका छौँ”, उपप्रमुख गुरुङले भने । 

    वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ । उक्त व्यवस्थाविपरीत कार्य गरेमा ऐनको दफाअनुसार जरिवाना हुने प्रावधान छ । पोखरा महानगरपालिकाले वातावरण संरक्षण, उपभोक्ता हित र स्थानीय फूल उत्पादक किसानको प्रोत्साहनका लागि आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend