काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विशेष तयारी गरेको छ। पर्वका समयमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणाली चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
विद्युत् आपूर्ति व्यवस्थापन तथा प्रणाली सञ्चालनलाई प्रभावकारी बनाउन प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो। बैठकमा पर्वका समयमा विद्युत् माग र आपूर्तिको व्यवस्थापन, प्रणाली सञ्चालन तथा सम्भावित प्राविधिक चुनौती समाधानका विषयमा छलफल गरिएको थियो।
त्यसैगरी प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी आवश्यक समन्वय गरिएको प्राधिकरणले जनाएको छ।
कार्यकारी निर्देशक श्रेष्ठले तिहार तथा छठ अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा नियमित सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नसमेत उनले निर्देशन दिएका छन्।
प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गरी सम्भावित अवरोध न्यूनीकरण गर्न तथा उपभोक्ताका गुनासो समयमै सम्बोधन गर्न पनि प्राधिकरणले सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ। विशेषगरी नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाई विद्युत् सम्बन्धी समस्या तत्काल समाधान गर्न जोड दिइएको छ।
प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ। उक्त माग पूरा गर्न आन्तरिक विद्युत् उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्।
लक्ष्मीपूजाका दिन विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले पर्वका समयमा विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त ऊर्जा उपलब्ध हुने प्राधिकरणको भनाइ छ।
पर्व अवधिभर विद्युत्को माग तथा आपूर्तिको नियमित अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रबीच निरन्तर समन्वय गरिनेछ। प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न प्राविधिक तथा व्यवस्थापकीय तयारीसमेत गरिएको छ।
यसैबीच प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ।
विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।




.gif)





