इलाम, १९ कात्तिक । पुष्पखेती तथा व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले ‘कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला–२०८३’ यहाँ सुरु भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपाल इलामले मेला आयोजना गरेको हो ।
मेलाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रामबहादुर मगरले इलाममा पुष्प व्यवसायको प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा यस्ता कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन्। मेला यही कात्तिक २१ गतेसम्म सञ्चालन हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल इलामका अध्यक्ष रञ्जिता याख्खाले जानकारी दिएका छन्।
‘फूलैफूलमा गोदावरी, पर्यटन र व्यापारको तयारी’ मूल नाराका साथ सुरु भएको मेलामा कोशी प्रदेशका विभिन्न जिल्लाका ३० वटा स्टलमा ४०० बढी फूलका प्रजाति प्रदर्शनमा राखिएका छन् ।
“इलामसहित कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका पुष्प व्यवसायीको ३० वटा स्टलमा ४०० बढी प्रजातिका फूल प्रदर्शनीमा राखिएका छन्,” अध्यक्ष याख्खाले भनेका छन्।
उनका अनुसार प्रदर्शनी मेलामा गोदावरी फूल मुख्य आकर्षणका रुपमा रहे पनि सयपत्री तथा विभिन्न मौसमी फूल, सुनगाभा, विभिन्न वनस्पति, परम्परागत बिरुवा, बोन्साइका बिरुवाको प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
मेलामा करिब पाँच हजार दर्शकले अवलोकन गर्ने र रु ६० लाखसम्म व्यापारिक कारोबार गर्ने लक्ष्य आयोजकको छ ।
पहिलोपटक आयोजना गरिएको मेलाले जिल्लामा पुष्प व्यवसायको सम्भावना र बजार विस्तारलाई थप प्रोत्साहन गर्ने भ्युटावर फूल नर्सरीकी सञ्चालक बुद्धमाया सोङ्मीले बताएका छन्।
इलाममा २०० बढी प्रजातिका फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ । जिल्लाभरि ७० वटा पुष्प नर्सरी व्यावसायिक रुपमा दर्ता भई सञ्चालनमा छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिकालगायत क्षेत्रमा व्यावसायिक पुष्पखेती हुँदै आएको छ ।




.gif)





.gif)
