काठमाडौं, १७ कात्तिक। काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्र ३३ स्थान तोकेको छ।
महानगरपालिकाले स्वदेशी किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्रीलाई प्रोत्साहन गर्न निश्चित स्थान तोकेको हो। साथै, प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री नगर्न व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेको छ।
महानगर प्रहरी बलले जारी गरेको सूचनाअनुसार प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ।
महानगरले फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलंकी, माछापोखरी, महाराजगन्ज, गोंगबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोडलगायत स्थान तोकेको छ।
त्यसैगरी हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायत स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिनेछ।
महानगरपालिकाले स्वदेशी उत्पादनको प्रवर्द्धन, स्थानीय किसानको उत्पादनलाई बजार उपलब्ध गराउने तथा तिहारमा फूल तथा मालाको बिक्री वितरण व्यवस्थित बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ।
महानगरले सम्बन्धित व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई तोकिएका स्थानबाटै फूल तथा माला बिक्री वितरण गर्न आग्रह गरेको छ।




.gif)





.gif)
