काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा खुद नाफा १७५.५२ प्रतिशतले बढाएको छ। बैंकले असोज मसान्तसम्म १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै एक वर्षको अवधिमा बैंकको त्रैमासिक नाफा करिब १ अर्ब ५ करोड रुपैयाँले बढेको छ।
बैंकको नाफामा उल्लेख्य वृद्धि हुनुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि र कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (इम्पेयरमेन्ट चार्ज) घट्नु प्रमुख कारण देखिएका छन्।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.४६ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ९२ करोड ६ लाख रुपैयाँ थियो।
त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ६३.५१ प्रतिशतले घटेर ३५ करोड ५७ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले यस शीर्षकमा ९७ करोड ४९ लाख रुपैयाँ खर्च छुट्याएको थियो।
खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेयरमेन्ट चार्जमा आएको कमीले बैंकको सञ्चालन नाफामा समेत सकारात्मक प्रभाव पारेको छ। समीक्षा अवधिमा सञ्चालन नाफा १७५.९१ प्रतिशतले बढेर २ अर्ब ३५ करोड १९ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो नाफा ८५ करोड २४ लाख रुपैयाँ थियो।
निक्षेप ७ खर्ब १४ अर्ब, कर्जा ३ खर्ब ४० अर्ब
नाफामा उल्लेख्य सुधार गरेको बैंकको निक्षेप तथा कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ। असोज मसान्तसम्म बैंकको कुल निक्षेप ४।१६ प्रतिशतले बढेर ७ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप ६ खर्ब ८६ अर्ब १४ करोड रुपैयाँ थियो।
यसैगरी, बैंकको कर्जा तथा सापटी २.५१ प्रतिशतले बढेर ३ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले ३ खर्ब ३२ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
वितरणयोग्य नाफा १ अर्ब ३७ करोड
बैंकको निष्क्रिय कर्जा अनुपातमा भने सामान्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.८३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको असोज मसान्तमा ३.८९ प्रतिशत पुगेको छ।
त्यस्तै, बैंकको पुँजी पर्याप्तता अनुपात ११.६४ प्रतिशतबाट घटेर ११.५३ प्रतिशतमा सीमित भएको छ। यद्यपि, बैंकको कोष लागत भने ३.१६ प्रतिशतबाट घटेर २.८१ प्रतिशतमा झरेको छ।
बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा जगेडा कोष ३.४४ प्रतिशतले बढेर ४० अर्ब ७२ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
बैंकको सञ्चित आम्दानी २७.४३ प्रतिशतले बढेर १ अर्ब ३७ करोड २४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, वितरणयोग्य नाफा पनि गत आर्थिक वर्षको पहिलो त्रैमासको २१ करोड ४७ लाख रुपैयाँबाट बढेर १ अर्ब ३७ करोड २४ लाख रुपैयाँ पुगेको छ।
ईपीएस ४२ रुपैयाँ २० पैसा
नाफामा आएको सुधारसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएसं पनि उल्लेख्य बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १५ रुपैयाँ ३२ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ४२ रुपैयाँ २० पैसा पुगेको छ।
यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ ३५८ रुपैयाँ ६८ पैसाबाट २.९४ प्रतिशतले बढेर ३६९ रुपैयाँ २३ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ।
समग्रमा राष्ट्रिय वाणिज्य बैंकले पहिलो त्रैमासमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि गर्दै खुद नाफा करिब तीन गुणा पुर्याएको छ। यद्यपि, निष्क्रिय कर्जा अनुपातमा भएको सामान्य वृद्धिले कर्जा गुणस्तर व्यवस्थापनमा थप ध्यान दिनुपर्ने देखाएको छ।




.gif)





