काठमाडौं, १५ कात्तिक । हिमाली जिल्लामा उत्पादित नेपाली स्याउले बजार विस्तारको ठूलो सम्भावना बोके पनि ढुवानी खर्च, भण्डारण सुविधाको अभाव र आयातित स्याउसँगको प्रतिस्पर्धाका कारण किसानले अपेक्षित लाभ लिन सकेका छैनन्। उत्पादन क्षेत्रबाट उपभोक्तासम्म पुर्याउँदा बढ्ने लागतले नेपाली स्याउको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको छ।
मुस्ताङ, जुम्ला, मुगु, डोल्पा, मनाङ, हुम्ला र कालिकोटलगायत जिल्लामा व्यावसायिक स्याउ खेती विस्तार हुँदै गएको छ। हिमाली क्षेत्रको हावापानी स्याउ उत्पादनका लागि अनुकूल मानिए पनि उत्पादनलाई व्यवस्थित बजारसँग जोड्न नसक्दा किसानले विभिन्न समस्या भोगिरहेका छन्।
यसको पछिल्लो उदाहरण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा देखिएको छ। बूढीगण्डकीको बाढीले पुल तथा सडक बगाएपछि त्यहाँ उत्पादित स्याउ गोदाममै थन्किएका छन्। ढुवानीको वैकल्पिक व्यवस्था नहुँदा किसान तथा व्यवसायीले स्याउ बजारसम्म पुर्याउन सकेका छैनन्।
नाम्रुङ र आसपासका क्षेत्रमा उत्पादित स्याउ खच्चडमार्फत बजारसम्म पुर्याउन करिब एक साता लाग्ने गरेको छ। यस क्रममा २० देखि २५ प्रतिशतसम्म स्याउ खेर जाने गरेको छ। गत भदौ १० गते भोटेकोशी र असोज २५ गते बूढीगण्डकीमा आएको बाढीले दर्जनौँ पुल तथा सडक बगाएपछि ढुवानी समस्या थप जटिल बनेको हो।
नेपाली स्याउको समस्या उत्पादनमा मात्र सीमित छैन। दुर्गम भूगोल, महँगो ढुवानी, सडक पूर्वाधारको कठिनाइ र शीतभण्डारको अभावले किसानलाई प्रभावित बनाएको छ। उचित भण्डारण सुविधा नहुँदा उत्पादन लामो समय सुरक्षित राख्न नसकिने र किसानले सस्तो मूल्यमा भए पनि तत्काल बिक्री गर्नुपर्ने बाध्यता छ।
अर्कोतर्फ भारतलगायत देशबाट आयात हुने स्याउसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती पनि उत्तिकै छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विदुरप्रसाद आचार्यका अनुसार आयातित स्याउको नियमित आपूर्ति र बजारमा सहज उपलब्धताका कारण स्वदेशी उत्पादनले बजार विस्तारमा चुनौती सामना गरिरहेको छ।
उनका अनुसार उपभोक्ताले मूल्य, आकार, देखावट र टिकाउपनका आधारमा स्याउ छनोट गर्ने भएकाले नेपाली उत्पादनको गुणस्तर सुधार र बजारीकरणमा विशेष ध्यान दिन आवश्यक छ। उत्पादन लागत घटाउने, गुणस्तर बढाउने तथा किसानले उचित मूल्य पाउने व्यवस्था गर्न सके नेपाली स्याउको बजार विस्तार गर्न सकिने उनको भनाइ छ।
त्यसका लागि उत्पादन क्षेत्रमै भण्डारण सुविधा, व्यवस्थित संकलन केन्द्र, सडक पूर्वाधार र बजारसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्नुपर्ने आवश्यकता छ।
आयात नियन्त्रण गर्न संसद्मै आवाज
स्वदेशी स्याउलाई प्राथमिकता दिनुपर्ने माग संसद्मा समेत उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले नेपाली स्याउ बजारमा आउने समयमा भारत र चीनबाट हुने आयात नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
हिमाली जिल्लाका किसानले कठिन परिस्थितिमा उत्पादन गरेको स्याउले बजार नपाउने तर विदेशबाट ठूलो परिमाणमा स्याउ आयात हुने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ छ।
संसद्मा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१।८२ मा नेपालले १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको थियो। त्यस्तै, चालु आर्थिक वर्ष २०८२।८३ को साउन महिनामा मात्रै एक अर्ब पाँच करोड ४४ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको सांसद शाहीले बताएका थिए।
उनले नेपाली स्याउलाई प्राथमिकता दिनुपर्ने र आयात नियन्त्रणका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका थिए।
शाहीका अनुसार जुम्लामा करिब ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन भए पनि हाल चार हजार ४९७ हेक्टर अर्थात् ११।७ प्रतिशत जमिनमा मात्रै स्याउ खेती भइरहेको छ। सम्भावित क्षेत्रमा खेती विस्तार गर्न सके देशको आवश्यकताको ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्न सकिने उनको भनाइ छ।
उनले जुम्लाका किसानमा एक अर्ब रुपैयाँ लगानी गर्न सके नौ अर्ब रुपैयाँ बराबरको प्रतिफल दिन सक्ने सम्भावना रहेको दाबी गरेका थिए।
मुस्ताङमा एक अर्ब १४ करोडको स्याउ उत्पादन
हरेक वर्ष असोजदेखि कात्तिकसम्म स्याउ टिप्ने मुख्य मौसम हो। यस समयमा जुम्ला र मुस्ताङका बगैँचा स्याउले भरिने गरेका छन्। स्थानीय किसानका अनुसार नेपाली स्याउको स्वाद, मिठास र गुणस्तरका कारण उपभोक्ताको आकर्षण बढ्दै गएको छ।
जुम्लाको स्याउले ुजुम्ली स्याउु का रूपमा छुट्टै पहिचान बनाएको छ भने मुस्ताङको मार्फा क्षेत्र स्याउका साथै जुस, वाइन, ब्रान्डी र सुकेको स्याउका लागि पनि परिचित छ।
स्याउ खेती हिमाली क्षेत्रका हजारौँ परिवारको आम्दानी र रोजगारीको महत्त्वपूर्ण स्रोत बनेको छ। परम्परागत खेती तथा पशुपालनमा निर्भर किसानका लागि स्याउ नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ।
मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा। लालमणि अर्यालका अनुसार जिल्लामा यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउ २३ करोड छ लाख रुपैयाँ र परम्परागत स्थानीय स्याउ ९१ करोड ९० लाख ९१ हजार रुपैयाँ बराबरको उत्पादन भएको छ।
जिल्लामा यस वर्ष हाइब्रिड र स्थानीय जातका गरी सात हजार ३८.५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ। त्यसमध्ये हाइब्रिड स्याउ ९५९.६२ मेट्रिक टन र स्थानीय परम्परागत स्याउ छ हजार ७८.९२ मेट्रिक टन रहेको छ।
डा. अर्यालका अनुसार कृषि प्राविधिकहरूले स्याउ बगैँचामा पुगेर क्रप कटिङ विधिबाट औसत उत्पादन मापन गरेका थिए। उत्पादनको परिमाण अनुमान गर्न स्थानीय तहका कृषि प्राविधिक तथा किसानसँग समेत समन्वय गरिएको थियो।
मुस्ताङमा उत्पादित स्याउमध्ये ९४ करोड ८० लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने अनुमान गरिएको छ। त्यस्तै, १७ करोड ५६ लाख रुपैयाँभन्दा बढीको स्याउ जिल्लाभित्रै खपत भएको जनाइएको छ।
जिल्लामा हाइब्रिड स्याउको मूल्य प्रतिकिलो २४० रुपैयाँ र स्थानीय परम्परागत स्याउको मूल्य प्रतिकिलो १५१ रुपैयाँ निर्धारण गरिएको छ।
गत वर्ष मुस्ताङमा छ हजार ६८४.३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यस वर्ष उत्पादन ३५४.२४ मेट्रिक टन अर्थात् ५.२९ प्रतिशतले बढेको डा। अर्यालले जानकारी दिएका छन्।
जिल्लामा कुल ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भएको छ। त्यसमध्ये हाइब्रिड स्याउको क्षेत्रफल ७६ हेक्टर र स्थानीय परम्परागत स्याउको क्षेत्रफल ८४१ हेक्टर रहेको छ।
उत्पादन बढ्दै गए पनि बजार, ढुवानी र भण्डारणको समस्या समाधान हुन नसके किसानले अपेक्षित लाभ लिन नसक्ने देखिन्छ। त्यसैले नेपाली स्याउको उत्पादनसँगै बजारीकरण, पूर्वाधार विकास र आयातित उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माणमा सरकारी ध्यान आवश्यक देखिएको छ।




.gif)





.gif)
