पाल्पा । पाल्पाको पहिचानसँग जोडिएको मौलिक परिकार बटुकप्रति स्थानीय तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। पुस्तौँदेखि प्रचलनमा रहेको यो परिकार पाल्पाको खानपान संस्कृति र परम्परागत स्वादको महत्वपूर्ण हिस्सा बनेको छ।
मास, केराउ लगायतका गेडागुडी भिजाएर पिसेपछि अदुवा, नुन लगायतका मसला मिसाई तेलमा तारेर बटुक तयार गरिन्छ। गोलाकार आकारमा बीचमा प्वाल पारेर बनाइने बटुक बाहिरबाट कुरकुरे र भित्र नरम हुन्छ।
पाल्पामा बटुकलाई विशेषगरी चुकाउनी सँग खाने चलन छ। मगर समुदायको मौलिक खानाका रूपमा परिचित बटुक पछिल्लो समय विभिन्न समुदायका मानिसको रोजाइमा समेत पर्ने गरेको छ।
चाडपर्व, मेला, भोजभतेर तथा पारिवारिक जमघटमा विशेष महत्व राख्ने बटुकले पाल्पाको स्थानीय खानाको पहिचानलाई समेत स्थापित गरेको छ। यस्ता मौलिक परिकारको संरक्षण र प्रवर्द्धनले स्थानीय संस्कृति जोगाउनुका साथै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।




.gif)





